काठमाडौं । सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत २०७६ बाट बन्द भएको छोटो, मध्यम र लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो ।
कोरोना भाइरसका संक्रमित काठमाडौंमा देखिएपछि सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो । त्यसपछि असारमा लकडाउन खुले पनि मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन भएका थिएनन् । लकडाउन खुलेपछि पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरेका थिए ।
जसका कारण सार्वजनिक सवारी साधन ग्यारेजमा थन्किएका थिए । सुरक्षा मापदण्ड पालना गरेर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले व्यवसायीको मागलाई सम्बोधन गर्दै अन्तरजिल्ला तथा लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।
दसैंमा घर फर्कनका लागि सहज गराउने उद्देश्यले समेत समयमै अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय भएको हो । यस वर्ष कात्तिकमा दसैं परेको छ । यातायात व्यवसायीहरुले समेत करिब ६ महिनादेखि सवारी साधन सञ्चालन गर्न नपाएका कारण घाटा बेहोर्नुपरेको भन्दै १ असोजबाट अनुमति नदिए पनि सवारी साधान सञ्चालन गर्ने बताएका थिए ।
