भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या

गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा समस्या

डोटी । जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७ –७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए ।

गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताए । उहाँले भन्नुभयो, “गर्भपतन सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेको छ, समस्या परेको खण्डमा गरिने उक्त सेवा अस्थायी साधनका रुपमा प्रयोग गरिए महिलाको स्वास्थ्यमा नै असर पर्ने निकै सम्भावना छ ।”

पछिल्लो समय गर्भपतन सेवा अस्थायी साधनका रूपमा प्रयोग हुन थालेका कारण यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका कारण स्वास्थ्यकर्मीमा चिन्ता थपिएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए । उहाँले भन्नुभयो, “गर्भपतन सेवा लिने बानी खासै राम्रो होइन, जिल्लामा गर्भवतनको गलत नजीर बसेको छ, यसले आमा बन्नेहरुको ज्यान नै खतरामा पर्ने देखिन्छ ।”

चालु आवमा २० वर्षमुनिका २८ महिलाले गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९६६ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतनको भने रेकर्ड राखिएको छैन । निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या निकै धेरै देखिने जिल्ला स्वास्थ्यको अनुमान छ । गत आवमा २० वर्षमुनिका ४९ र २० वर्षमाथिका ९८२ किशोरी तथा महिलाले गर्भपतन गराएका थिए ।

यस आव सकिन अझै एक महिना बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्ने जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमरसिंह भाटले बताए । गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि यहाँका महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भपतन गर्नेकोे सङ्ख्या अधिक हुनुमा अशिक्षा, अवैध यौन सम्पर्क र पुरुष शिक्षित हुँदा पनि महिलालाई दबाब दिएर गर्भपतन गराउने बानीका कारण बढ्दै गएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका वरिष्ठ अनमी विधि भण्डारीले बताए ।

उहाँले भन्नुभयो, “गर्भपतन गराउनुमा पुरुष बढी दोषी छन्, आफू असुरक्षित यौन सम्पर्क गर्ने अनि बच्चा बसे महिलालाई गर्भपतन गर्न दबाब दिने गरेका कारण जिल्लामा समस्या उत्पन्न भएको हो ।” असुरक्षित गर्भ रोकिए निजी मेडिकलबाट समेत औषधि किन्ने, औषधि खाएर गर्भपतन गर्ने र औषधि असरले उच्च रक्तस्राव हुँदै पछि गएर जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ ।

सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट मात्रै गर्भपतन सेवा लिन सकिने नेपाल सरकारले प्रावधान तयार गरे पनि जिल्लामा आफूअनुकूल तथा पायक पर्ने ठाउँबाट नै गर्भपतन गराउने बढेकाले झनै समस्या देखिएको छ । असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुनु आमाको स्वास्थ्यका हिसाबले चुनौतीपूर्ण कुरा भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए ।

उहाँका अनुसार परिवार नियोजनका थुप्रै साधन हुँदाहुँदै पनि गर्भवती हुनुले परिवार नियोजनका साधन प्रयोगमा कमी आएको र यही कारणले आमाहरूमा समस्या हुने देखिन्छ । सम्बन्धित महिलाको मञ्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन सक्ने अधिकार कानूनमा उल्लेख गरिएको छ । नेपालजस्तो पितृ सत्तात्मक सोच भएको देश भएकाले छोराको चाहना, गरिबी, अशिक्षा र अवैध सम्बन्ध कारण यहाँ गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.