भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण

मुक्तिनाथको झल्को दिने गरी कृत्रिम हिमाल निर्माण

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो । च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छे, धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “यस कार्यका लागि गण्डकी प्रदेश सरकारको रु २० लाख आर्थिक सहयोग रहेको छ भने स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।” कृत्रिम हिमशृङ्खला र १०८ धारा निर्माण पछि ‘‘मिनी मुक्तिनाथ’’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचन बताउनुभयो ।

विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमीनमा बस्ती बसाउन खोजेपछि स्थानीय बासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । सार्वजनिक जमीनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटा बताउनभुयो । सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन तीन वर्षअघि महायज्ञ गरी रु एक करोड ५० लाख सङ्कलन गरिएको थियो ।

सङ्कलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो । उहाँले भन्नुभयो, “च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छानो तामाको राखिएको छ ।” शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् । मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना निर्माण गरिएको छ । च्यवनधाम परिसरमा बौद्ध गुम्बा पनि रहेको छ ।

एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो । एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको समितिले जनाएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्तरूपमा बजेट उपलब्ध गराउँदै आएका छन् । च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बन्ने विश्वास गरिएको छ । धाम क्षेत्रमा मिनी चिडियाखाना बनाउने दीर्घकालीन योजना रहेको समितिका उपाध्यक्ष अर्जुन लम्सालले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.