भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिनुभयो । बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए ।

सोही समयमा गोठालोले च्याङ्ग्रा खोरको ढोका लगाइदिए पछि खोरभित्रै हिँउ चितुवा थुनिएको हो । हिउँ चितुवा थुनिएसँगै गाउँलेले जिल्ला प्रशासन कार्यालय मनाङ, अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा हिँउ चितुवाको उद्धारका लागि नार्पा भूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना९एक्याप०का कर्मचारी पुगेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

हिउँ चितुवा उद्धारका लागि घटनास्थलमा पुगेको भए पनि खराब मौसमका कारण कसरी उद्धार गर्ने जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । पीडित पक्षले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासँग राहत उपलब्ध गराउन माग गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले पीडत पक्षलाई राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिउँ चितुवालाई सम्बन्धित निकायमा लैजाने तयारी गरिएको र उद्धारका लागि आवश्यक सामग्री नहुँदा खोरभित्रै हिउँ चितुवा थुनिएर बसेको जनाइएको छ ।

हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो । यो दक्षिण एशिया तथा मध्य एशियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँ चितुवा समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ । लुकेर रहने स्वभावका कारण यिनीहरूको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन । खुला जङ्गली क्षेत्रमा तीन हजार ५०० देखि सात हजारको सङ्ख्यामा तथा विश्वका चिडियाघरमा ६०० देखि ७०० को सङ्ख्यामा हिउँ चितुवा रहेको अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.