पोखरा । सरकारले एकसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास गर्ने भनेर सोमवारको मिति तय गरेकोमा केहि ठाउँमा जनप्रतिनिधिकै विवादका कारण शिलान्यास रोकिएको छ । ती विवादित ८४ वटा पालिकामा १५ शैय्याका आधारभूत अस्पताल शिलान्यास हुन नसकेको हो ।
गण्डकी प्रदेशका ३ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा सोमबार अस्पताल शिलान्यास हुन नसक्नु दुखद भएको स्थानीयले बताएका छन् । पूर्व निर्धारित मितिमै शिलान्यास हुन नसक्नुको मुख्य कारण स्थानीय जनप्रतिनिधिबीच कुरा नमिल्नु रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसबीच कसको हातबाट शिलान्यास गर्ने भन्ने विषयमै विवाद चर्किएका लाजमर्दो विवाद समेत जनताले देख्न पाए ।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन सरकारले बजेट र कार्यक्रम दिएको थियो । तर जनप्रतिनिधिका घिनौना हर्कतले गर्दा जनता सेवावाट वञ्चित हुनु पर्ने अवस्था सृजना भएको स्थानीयले बताए । जनप्रतिनिधिको निर्णयमा कर्मचारीले स्वार्थ साँधिदिदा विवाद सिर्जना गर्ने काम भइरहेको अधिकाँस पालिकाहरुको गुनासो त छँदै थियो, त्यसमा पनि कसले शिलान्यास गर्ने भन्ने कुराको स्वार्थले जनताले लज्जित हुनु पर्ने अवस्थाले के कुराको संकेत गर्छ ?
