भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

जाजरकोटमा स्वास्थ्य क्षेत्रमा देखिएको भरोसा

जाजरकोटमा स्वास्थ्य क्षेत्रमा देखिएको भरोसा

जाजरकोट । विगत १० वर्षको बीचमा भारी क्षति व्यहोरेको जाजरकोट बल्ल लयमा आएको छ । स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासका साथै गाउँमा जोडिएका सडकले यहाँको स्वास्थ्य क्षेत्र सुधारिएको हो । कहिले झाडापखाला त, कहिले भाइरलका कारण समस्या भोगिरहने जाजरकोट पछिल्ला दुई वर्षमा सो दर शून्यमा झरेको छ । स्वास्थ्य क्षेत्रमा बढेको जनचेतना र राज्यको लगानी भित्रिएपछि जाजरकोटले स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको छ ।

दुई वर्षअघि डोकोको सहारामा पिठ्युँमा बिरामी बोक्ने जाजरकोटका गाउँमा अहिले यातायातका साधनमै सजिलैसँग स्वास्थ्य संस्था पुग्न थालेको बारेकोट गाउँपालिकास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भर्खरै मात्र १५ शय्याको अस्पताल शिलान्यास भएको छ । प्रशासकीय केन्द्रलगायत तल्लो क्षेत्रमा सडक सञ्जालले छोएपछि आम मानिस सजिलै स्वास्थ्य संस्था जान र आउन सक्ने भएका छन् ।”

“पहिले बारेकोटबाट बिरामी बोकेर सदरमुकाम ल्याउन दुई दिनभन्दा बढी लाग्ने गर्दथ्यो” उहाँले थप्नुभयो, “अहिले अधिकांश औषधि लिम्सालगायत सबै वडामा रहेका स्वास्थ्य संस्थामा पाइने गरेको छ ।” झाडापखालाको समयमा बढी थलिएको बारेकोटमा अहिले स्वास्थ्य सूचक जिल्लाकै एक नम्बर भएको छ । सदरमुकाममा ५० शय्याको अस्पताल निर्माण शुरुसँगै नयाँ आशाका किरण पलाएको नागरिक अगुवा सहदेव बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा ५० शय्याको अस्पताल सुर्खेतपछि जाजरकोटमा निर्माण हुन लागेको हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल मात्र भएको सन्दर्भमा जाजरकोटमा ५० शय्याको अस्पताल निर्माण शुरु भएको छ ।” हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री रहँदा विसं २०७३ जेठ १० गते ५० शय्यामा स्तरोन्नति भएको भनी उद्घाटन गरिएको थियो ।

अहिले जिल्लाको शिवालय, नलगाड, छेडागाड र बारेकोटमा १५ शय्याको अस्पताल उद्घाटन गरी सेवा शुरु गरिएको छ । स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्य संस्था कसले राम्रो बनाउने विषयमा होडबाजी छ । औषधि पसलको सहारामा चलेको जाजरकोटको स्वास्थ्य सेवा विस्तारै सरकारी सेवाको पकडमा आएको आम नागरिक बताउँछन् ।

धामी, झाँक्रीको भरोसा मान्ने समाज स्वास्थ्य सेवाप्रति विश्वस्त हुँदै आएको छ । असुरक्षित तरिकाले गोठमा सुत्केरी हुन बाध्य पार्ने जाजरकोटको कुनाकन्दराका गर्भवतीहरु अहिले स्वास्थ्य संस्थामा गएर सुत्केरी हुँदा सो दरसमेत ह्वात्तै बढेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले बताएको छ । अन्य क्षेत्रभन्दा स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सबै सरोकारवाला सहमत मात्र भएका छैनन्, जिल्लामै डिप्लोमा इन फार्मेसी पढाइसमेत शुरु भएको छ ।

गाउँगाउँमा भारी मात्रामा पाइने औषधि पसल विस्थापित भएका छन् । औषधि पसलमा जथाभावी औषधि सेवन गर्दा सरकारी स्वास्थ्य सेवाबाट पाइने औषधिले काम नगर्ने समस्या अहिले मेडिकल विस्थापितसँगै हल भएको छ । जाजरकोटमा पहिलोपटक लागेको झाडापाखालबाट सरकारी रेकर्डअनुसार १६६ जनाको मृत्यु भएको थियो । दोस्रोपटक २९ जनाले ज्यान गुमाएका थिए ।

आशा जगाउने सरकारी कार्यक्रम

सरकारी स्वास्थ्य संस्था पहुँचमा नहुँदा सर्वसाधारणबाट गुमेको विश्वास अहिले आर्जन भएको छ । सरकारी स्वास्थ्य संस्थाभन्दा मेडिकलमा गएर उपचार गर्ने नागरिक अहिले स्वास्थ्य संस्थामा भीड लाग्ने गरेको छ । स्थानीय सरकारको गतिशील योजनाले सबैको ध्यान तान्न मद्दत गरेको स्थानीयवासी बताउँछन् ।

स्थानीय सरकारले एम्बुलेन्समार्फत बिरामीलाई स्वास्थ्य संस्था पुर्याउँदा झन् निम्न अवस्था भएका आम नागरिकलाई सरकारी सेवाप्रति मन तानेको छ । निम्न अवस्था भएका बिरामी, शारीरिक अशक्तलाई स्थानीय सरकारले कार्यपालिकाको बैठकबाट आर्थिक सहायता गर्दा सरकारको अनुभूति सिर्जना भएको हो ।

कस्ता व्यक्तिलाई एम्बुलेन्स निःशुल्क सहयोग गर्ने भनी कार्यविधि नै बनाइएको छ । सबै पालिकाले आफ्नो क्षेत्रभित्र एमबिबीएस पढ्ने विद्यार्थीलाई आर्थिक सहायतासमेत दिने गरेका छन् । पैसा अभावकै कारण पढ्न नपाउने अवस्थाको अन्त्य गर्न सो व्यवस्था गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.