तीन वर्षमा १ पटक लाग्ने मत्स्यनारायण मेलाको तयारी पुरा, भक्तजनको भीड (भिडियो)

तीन वर्षमा १ पटक लाग्ने मत्स्यनारायण मेलाको तयारी पुरा, भक्तजनको भीड (भिडियो)

चन्द्रागिरि । मत्स्यनारायण मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर क्षेत्रमा तीन वर्षको अन्तरालमा लाग्ने मेलाको तयारी पुरा भएको वडाध्यक्ष अच्यूत अधिकारीले बताए । साउन २ गतेदेखि १ महिनासम्म लाग्ने पुरूषोत्तम मास मेलाको व्यवस्थापन वडा कार्यालयकै अग्रसरतामा भएको छ । धार्मिक आस्था भएपनि मेलालाई धार्मिक पर्यटनसंग जोडेर लैजाने अधिकारीले धारणा व्यक्त गरे ।

मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरेर जिम्मेवारी दिइसकिएको उनकाे भनाइ छ । मेला व्यवस्थापनमा नगरपालिका, सुरक्षा निकाय तथा सरोकारवाला सबैले साथ दिएका छन् ।यसका लागि सबैसंग वडाले समन्वय गरेकाे मेला व्यवस्थापन समितिले जनाएकाे छ । मेला व्यवस्थित बनाउँनका लागि सार्वजनिक स्थान ओगटेर पसल राख्न नपाइने, व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, हरेक पसलमा अनिवार्य सबैले देख्ने गरी मूल्य सूची राख्नुपर्ने नियम मेला व्यवस्थापन समितिले बनाएकाे छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

व्यवसायीहरूकाे बसाइमा नै यस्ताे आग्रह गरेकोले सबैको अनुरोधमा बनाइएको उक्त नियम नमान्नेलाई कडा भन्दा कडा कारबाही गर्ने भएकाे छ । मत्स्य नारायण मन्दिर क्षेत्रको १५० मिटर क्षेत्र वरपर मदिराजन्य पदार्थ तथा माछाबाट बनेका परिकार बनाउँन र बेच्न नपाइने भएकाे छ । उक्त पदार्थ विक्री वितरणमा पूर्ण रोक लगाएको मेला व्यवस्थापन समितिले जनाएकाे छ ।

मत्स्यावतार/ दर्शन गरे पुण्य प्राप्त 
भगवान विष्णुका दस अवतार मध्ये प्रथम अवतार मत्स्यावतार हो भनेर हिन्दु धर्मग्रन्थमा उल्लेख छ । मत्स्यावतारमा विष्णुले माछाको रूप लिएको भन्ने छ । भगवान विष्णुको पहिलो अवतार मत्स्य अवतारको मन्दिर नेपालमा मात्रै छ । त्यो पनि एक मात्र मन्दिर हो चन्द्रागिरिको ‘मत्स्यनारायण मन्दिर’ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक हिसावले सम्पन्न यो मन्दिर पर्यटकीय रुपमा अत्यन्तै महत्व बोकेको छ ।

काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका अन्तर्गत मच्छेगाउँ वडा नं ९ मा रहेको यो मन्दिर ‘श्री हरिहर विष्णु मत्स्यनारायण भगवान’ भनेर विराजमान रहेकाले मत्स्यनारायण मन्दिर भनेर परिचित छ । यस धार्मिक तीर्थस्थल मत्स्यनारायण मन्दिरमा प्रत्येक तीन वर्षमा मलमास भरि एक महिनासम्म मत्स्यनारायण मेला लाग्ने भएकाले यसको महिमा अपरमपार छ । यो मेलालाई अधिकमास तथा ‘पुरूषोत्तम मास मेला’ भनेर सबैले चिन्ने गर्दछन् ।

यो वर्ष साउन महिनाको २ गते अर्थात (भोलि)बाट मलमास एवं पुरूषोत्तम मास सुरु हुने भएकोले मेलाको आयोजना गरिएको हो । ३२ साउन सम्म भव्यताका साथ मेला लाग्ने भएकाले मच्छेनारायण मन्दिर परिसरमा देशका विभिन्न ठाउँबाट व्यापारका लागि व्यवसायी आइसकेका छन् भने भक्तजनको भीडलाग्न थालेको छ ।स्थानीय किंवदन्ती
द्वापर युगमा भगवान कृष्ण घुम्दै आउँदा यसै स्थानमा रहेको जलकुण्डमा विलिन भएको । जुन बेला पुरुषोत्तममास चलिरहेको थियो । सँगै आएका ग्वालाहरूले भगवान कृष्णलाई कहीँ नदेखे पछि भगवान विष्णुको भक्ति तथा आराधना गर्न थाले र एक महिना बितेपछि ‘श्री हरिहर विष्णुले माछा स्वरुपको रुप धारण गरी दर्शन दिएको भन्ने कथन रहेको छ ।

साउन २ गतेबाट सुरु हुने यस पुरुषोत्तममास मेलालाई ध्यानमा राखेर श्रध्दालु भक्तजनका लागि व्यवस्थापन पक्षले सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका सबै तयारी पूरा गरेको छ ।

श्रावण महिना भरी लाग्ने यस ‘पुरुषोत्तम मास मेलामा भगवान् श्री हरिहर विष्णु मत्स्यनारायण भगवानको दर्शन गर्नाले पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासका साथ अधिकांश भक्तजन भारतबाट आउने गरेको मच्छेगाउँ वडा नं, ९ का वडाअध्यक्ष तथा ‘पुरुषोत्तममास मेला व्यवस्थापन समिति’का संयोजक अच्युत अधिकारीले बताए ।

पवित्र तीर्थस्थलमा विभिन्न धर्मालम्बी तथा भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ । यो मेलामा २० लाखजति भक्तजनहरुले दर्शन गर्न सक्ने अनुमान वडा अध्यक्ष अधिकारीले बताए । यो महिना सौर्यमान र चन्द्रमान बिच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि पर्दछ ।

अधिकमासका रुपमा समेत लिइने यस अवधि भरी विशेष गरी कुनै पनि शुभकार्य गर्न नहुने धार्मिक मान्यतासमेत रहेको छ । यस अवधिमा ‘श्री हरिहर विष्णु मत्स्यनारायण’ भगवानको दर्शन तथा पूजा गर्नाले पाप नष्ट भई मुक्ति प्राप्त हुने जनविश्वास पनि रहिआएको छ ।

सुन्दर कुण्डमा माछा पौडिखेलिरहेका छन्
मन्दिर वरिपरि जलाशय कुण्ड रहेको छ । जहाँ माछाहरु पौडिरहेको देख्न सकिन्छ । यो मत्स्यनारायण मन्दिरमा १४ वटा ढुंगेधाराहरुमा पानी बगिरहेको देखिन्छ । मन्दिरको पर्खालका भित्ताहरुमा भगवान विष्णुको विभिन्न स्वरुपको मूर्तिहरु कुँदिएका छन् । सुन्दर मूर्ति तथा मनमोहक कलाकृतिले भरिएका उक्त मूर्तिले मन्दिरको सोभा अझ बढाईदिएको छ ।

  आफैमा पुरातात्विक सम्पदा भएको हिसाबले पनि मौलिक तथा विशेष महत्व यस मन्दिरले बोकिरहेको छ । सायद त्यहि भएर पनि होला यस मन्दिरको दर्शन गर्न टाढा–टाढाबाट श्रध्दालु भक्तजनहरूको ओइरो लाग्ने गर्दछ । विशेषगरी भारतका विभिन्न प्रान्तबाट यहाँ भक्तजन आउने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.