दुई बस आपसमा ठोक्किँदा दाङमा एक जनाको मृत्यु, २९ घाइते

दुई बस आपसमा ठोक्किँदा दाङमा एक जनाको मृत्यु, २९ घाइते

दाङ । देउखुरीमा दुई बस आपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ। बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले बताए ।

बस ठोक्किएपछि आगो लागेको डिएसपी गौतमको भनाइ छ । दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ । मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी –७ की ४३ वर्षीया शोभा परियार रहेकी छन्। दुई छोरापनि घाइते भएका छन् ।

परियार बाराबाट इट्टा भट्टामा काम गरेर घर फर्कदै थिइन् । दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये अधिकांश इँट्टा मजदुर रहेको बताइएको छ । घाइतेमध्ये लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामीजाल र अर्की एक महिलाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।

घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको छ । स्थानीय रूटमा चल्ने बस तीव्र गतिमा रहेका कारण दुर्घटना हुन पुगेको प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.