भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

दोदामा बाढीः तीन दर्जन घर डुबानमा

दोदामा बाढीः तीन दर्जन घर डुबानमा

कञ्चनपुर । लझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा गए राति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् । आज बिहान २ः०० बजेको समयमा नदी बस्तीमा छिरेपछि चौपायासहित स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्नु परेको वडा नं ३ का वडाध्यक्ष टीकाराम चौधरीले बताए ।

उहाँका अनुसार बल्मी र डुङाका गरी ४० बढी घर डुबानमा परेका छन् । नदीको पानी घरभित्र पस्दा स्थानीय बासिन्दाले भण्डारण गरेका अन्न भिजाइदिँदा क्षति भएको छ । केही घर भत्किने अवस्थामा छन् । “बाढीले पु¥याएको क्षतिबारे विवरण सङ्कलन गरिरहेका छौँ”, वडाध्यक्ष चौधरीले भन्नुभयो, “निकै क्षति गरेको छ, विवरण सङ्कलनपछि मात्रै क्षतिबारे जानकारी दिन सकिने छ ।” नदीमा बाढी आएको बेलैमा थाहा पाउँदा मानवीय क्षति भने नभएको  बताए ।

झण्डै १० बिघा बढीमा किसानले लगाएको उखुसमेत नदीको बाढीले क्षति गरेको छ । स्थानीय बासिन्दा झक्कुप्रसाद चौधरीले नदीको बाढीले उखु ढलाएपछि लाखौँ क्षति भएको बताए । “दुई दर्जन बढी किसानले खेतमा रोपेको उखु नदीको बाढीले ढलाइ दिएको छ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रमा व्यापक वर्षा हुँदा अप्रत्यासितरूपमा क्षति व्यहोरेका छौँ ।” नदीको बाढी खेतमा पस्दा किसानले रोपेको धानबालीसमेत बालुवाले पुरिदिएको छ । बल्मी र नन्दगाउँ जोड्ने दोदा नदीमाथि बन्दै गरेको पुलका निर्माण सामग्रीसमेत बाढीले बगाएर नोक्सानी पुयाएको छ ।

अहिले नदीको पानीको सतह घट्दो छ । नदीको पानीको सतह घट्दै गर्दा जग्गा कटान तीव्र बनाएको स्थानीय तुलाराम चौधरीले बताउनुभयो । पानी पर्ने क्रम अझै जारी रहेका कारण स्थानीयवासी त्रासमा छन् । यसैगरी दोदामा आएको बाढीकै कारण शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित झोलुङ्गे पुल बचाउन निर्माण गरिएको तटबन्ध भत्किएको छ । तटबन्ध भत्किँदा झोलुङ्गे पुल जोखिममा परेको वडाध्यक्ष बाले रानाले बताउनुभयो । स्थानीय खोलामा आएको बाढीका कारण शुक्लाफाँटा–८ मा रहेको बैजनाथ सामुदायिक वनले घाटगद्दी गरेर राखेको काठ र दाउरा बगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.