काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पुर्व उपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, तत्कालिन गृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसीको बयान सकिएको छ ।
पक्राउ परेका १३ जनाको बयान सकिएको छ भने सोही प्रकरणमा मुछिएका सानु भण्डारी, केशव दुलाल, सागर राई, गोबिन्द चौधरी, रामशरण केसी र टंककुमार गुरुङको बयान सकिएको जनाएको छ ।
टोपबहादुर रायमाझीले ३ करोड, खाँडले १ करोड २३ लाख बढी, टेकनारायण पाण्डेले ५० लाख, नरेन्द्र केसीले ५ लाख बढी, सन्दीप रायमाझीले ४० लाख र रामबदादुर थापाका छोरा प्रतीक थापाले १ करोड बढी रकम बुझेको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका अनुसार उक्त प्रकरणमा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई रहेका छन् । उनले ५ करोड भन्दा बढी रकम लिएको खुलासा भएको छ । सोही प्रकरणमा आत्मसमर्पण गरेका आङटावा शेर्पाको भने बयान लिने क्रम जारी छ । उनलाई प्रहरीले २ दिनको म्याद थप गरी बयान लिन लागेको हो ।
सोही प्रकरणमा मुछिएका फरार पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा र ईन्द्रजित राइका छोरा निरज राइको खोजी कार्य जारी छ । प्रहरीले बयान सकिएकाहरुलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध मानव बेचविखन तथा ओसारपसार, सार्वजनि पद दुरुपयोगलगायतको मुद्दा चलाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । यसका लागि थप तीन चार दिनको समय लाग्ने बताइएको छ ।
