काठमाडौं । नयाँ नेतृत्वका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी आज चुनावी प्रक्रियामा जादै छ । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए । उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भएको थियो ।
बिहीबारबाट आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता बंशीकुमार शर्माले जानकारी दिए । राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने राप्रपाले जनाएको छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने शर्माले जानकारी दिए ।
अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुने उनको भनाइ छ । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने राप्रपाको विधानमा व्यवस्था छ। निर्वाचित अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था पनि विधानमा रहेको बंशीकुमार शर्माले बताए।
महाधिवेशनमा देशभरिबाट करिब ४२ सय प्रतिनिधि सहभागी रहेको उनको भनाइ छ । ती प्रतिनिधिले मतदानमा भाग लिने बताए ।
