भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

काठमाडौँ । निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेको यज्ञडोल जगडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा शहीद, निजामती र घुन्सा स्मृति स्मारक निर्माण भइरहेको छ । राजधानीका अधिकांश भाग देखिने यस स्थलमा निजामती स्मारक निर्माण भएपछि राष्ट्रसेवकले पदबहाली गर्नुअघि यहाँ पुष्पगुच्छा अर्पण गर्नाका साथै सपथसमेत लिने निर्णय मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले यसअघि नै गरिसकेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धले राष्ट्रिय शहीद स्मारकसँगै निर्माण भइरहेको निजामती स्मारक क्षेत्रमा वृक्षरोपण गरेको हो । कपुर, कल्की, तेजपातलगायत जातका पाँच फिटभन्दा अग्ला ६० बिरुवा स्मारक निर्माण क्षेत्रमा रोपिएको हो । कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती स्मारक यज्ञडोल जगडोल सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले निजामती सेवा ऐन जारी गर्ने पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गर्न लागिएको जानकारी दिए ।

यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास वैरागीले स्मारक स्थलमा शालिकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताए । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले रोपिएका बिरुवाको संरक्षण गर्न समुदायसँग मिलेर सहकार्य गरिने प्रतिबद्धता जनाउनुभयो । गोकर्णेश्वरका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गानाले वार्षिक रुपमा लाखौँ वृक्षरोपण गर्ने गरिए पनि त्यसको संरक्षण नहुने गरेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

बूढानीलकण्ठ–११ का अध्यक्ष राजु अधिकारीले साना बिरुवा रोपेर हुर्काउन नसकिने भएकाले पाँच फिटभन्दा अग्ला बिरुवा रोप्नेतर्फ ध्यान जानुपर्ने बताए। विसं २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । ऐन जारी गर्न तत्कालीन प्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाले खेल्नुभएको भूमिकाको सम्मान गर्दै शालिक निर्माण गर्न लागिएको समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.