भर्खरै : Sorry, your browser does not support inline SVG.

पत्नी गौरीविरुद्ध उजुरी परेपछि शाहरूख तनावमा

पत्नी गौरीविरुद्ध उजुरी परेपछि शाहरूख तनावमा

एजेन्सी । बलिउड सुपरस्टार शाहरूख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी परेको छ । गौरी फिल्म निर्माता तथा चर्चित डिजाइनरसमेत हुन् ।

उत्तर प्रदेशको राजधानी लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध एफआईआर दर्ता गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गौरीविरुद्ध धोखाधडी गरेको आरोपमा इन्डियन पेनल कोड (आईपीसी) को धारा ४०९ अन्तर्गत मुद्दा दायर गरिएको हो ।

मुम्बई निवासी जसवन्त शाहले गौरी ब्रान्ड एम्बेसडर रहेको कम्पनीले फ्ल्याट दिने सर्तसहित ८६ लाख रुपैयाँ लिएको थियो । तर, सम्झौताअनुसार फ्ल्याट नदिएको भन्दै शाहले उजुरी गरेको जनाइएको छ ।

उक्त फ्ल्याट लखनऊको सुशान्त गल्फ सिटीस्थित तुल्सीयानी गोल्ड भ्युमा रहेको छ । उजुरीमा उनले ब्रान्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

निर्माण कम्पनी तुल्सीयानी कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट लिमिटेडको ब्रान्ड एम्बेसडर गौरी हुन् । शाहले निर्माण कम्पनीविरुद्ध पनि उजुरी गरेका छन् ।

उजुरीमा शाहले गौरीले पैसा हिनामिना गरेको आरोपसमेत लगाएका छन् ।

गौरी फेसन डिजाइनर तथा फिल्म निर्मातासमेत हुन् । गौरी ‘मे हुँ ना’, ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’ लगायतका चर्चित फिल्मकी निर्माता हुन् ।

 


Thali Mobile Pvt.Ltd.