भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

पर्यटकीयस्थलमा भीड

पर्यटकीयस्थलमा भीड

लमही । जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा चहलपहल बढ्न थालेको छ । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका धार्मिक तथा पर्यटकीयस्थलमा स्वास्थ्य सावधानी अपनाएर मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो । जिल्लाका मठमन्दिर, कृत्रिम जलाशयसँगै पर्यटकीयस्थलमा पुग्ने मानिसको सङ्ख्या बढ्दै जान थालेको छ ।

घोराही उपमहानगरपालिका–१३ मा रहेको ज्यामिरे दहमा पुग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि भएको डुङ्गाचालक वीरजन पुनले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिमका कारण लामो समयसम्म चल्न नसकेका डुङ्गा अहिले चल्न थालेको उहाँको भनाइ छ । आजभोलि दैनिक करिब २०० को सङ्ख्यामा मानिस दहमा घुमफिर तथा डुङ्गा चढ्न आउने गरेको उहाँले बताउनुभयो । ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहको जङ्गलको बीचमा रहेको दह आकर्षक रहेको छ ।

वडा नं १३ कै बाह्रकुने दहसँग जोडिएको ज्यामिरे दहलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि करिब तीन वर्ष पहिले तालको चौडाइ, लम्बाइ र गहिराइ बढाइएको थियो । करिब १२ बिघा क्षेत्रफलमा फैलिएको दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४५ मिटर र गहिराइ ३० मिटर रहेको ज्यामिरे दह सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । बाह्रकुने दहबाट ज्यामिरे दह पुग्नका लागि ग्रिलसहितको सिँढी निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय दाङले पर्यटकीय क्षेत्रको विकासका लागि ग्रिलसहितका सिँढी निर्माण गरिदिएपछि बाह्रकुने दहबाट ज्यामिरे दह मानिसलाई आउन सहज भएको स्थानीय कमल पुनले जानकरी दिनुभयो ।

त्यस्तै पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा पर्यटकको आकर्षण बढ्दै गएको छ । कोरोनाका कारण सुनसान बनेको शान्ति उद्यानमा पछिल्लो समयमा विभिन्न भौतिक संरचना थपिएसँगै पर्यटक पनि थपिँदै गएका छन् । लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा रु २४ लाख लागतमा बुद्धको मूर्ति स्थापना गरेसँगै दिनहुँजसो आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । उहाँले बिदाको दिन दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेको बताउनुभयो ।

उहाँले शान्ति उद्यानमा विभिन्न संरचना पछिल्लो समयमा थपिएपछि पर्यटक पनि भरिभराउ हुने गरेको बताउनुभयो । विसं २०५९ मा शान्तिको कामना गर्दै तुलसीपुर उपमहानगरपालिका–७ मा स्थापना भएको प्रदेशकै सबैभन्दा ठूलो पर्यटनको सम्भावना बोकेको राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको हो । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट अवलोकनका लागि मानिस आउने गरेका छन् । “बुद्धको मूर्ति स्थापनासँगै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ, यसअघि कोरोनाको सङ्क्रमणले सुनसान उद्यानमा हाल भरिभराउ हुने गरेको छ”, भण्डारीले भनुभयो ।

चराचरुङ्गीको मधुर स्वर र प्राकृतिक एवं जैविक विविधताले भरिएको उद्यानमा बाल उद्यानदेखि वनस्पति र बगैँचासमेत छन् । त्यस्तै सानो चिडियाखानाले पनि आकर्षण बढाएको छ । त्यस्तै अम्बिकेश्वरी मन्दिर, छिलिकोटको कालिका मालिका मन्दिरमा पनि पर्यटकको चहलपहल बढेको छ । त्यस्तै गढवा गाउँपालिकाको कोइलावासमा रहेको रामजानकी मन्दिरमा पनि आन्तरिक पर्यटक आउन थालेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.