काठमाडौं । नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै देउवाले जलवायु परिवर्तनकै कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलताप्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए ।
हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वसँग आग्रह गरेका हुन । नेपालले हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडिसी) पेस गरेको जानकारी दिए ।
नेपालको करिब ८० प्रतिशत जनसंख्या प्राकृतिक र जलवायुजन्य प्रकोपबाट जोखिममा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले विगत ४० वर्षको अवधिमा प्राकृतिक प्रकोपबाट नेपालमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको भौतिक र आर्थिक क्षति पुगेको बताए ।

