भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

फूलखेतीमा रमाउँदै युवा कृषक

फूलखेतीमा रमाउँदै युवा कृषक

लुम्बिनी । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएका छन् । यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उहाँले जानकारी दिए । यस वर्ष तिहार केही ढिलो पर्दा उहाँको फूलबारीमा फूल दसैँअघिनै फुल्न सुरु गरेको हो । “यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैँको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार भयो”, उनले भने, “तिहार नजिकिएसँगै फूलको माग पनि बढेको छ, यस वर्ष दसैँ र तिहारमा फुलको राम्रो व्यापार भएको छ ।” प्रतिमाला रु एक सय र फूलको प्रतिकिलो रु पाँच सयसम्ममा बिक्री भइरहेको उनले बताए ।

यस वर्ष रु पाँचलाख आम्दानी गर्ने उहाँको लक्ष्य छ । भारतबाट फूल आयात हुँदा स्थानीय किसानलाई भारतीय फूलसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको व्यवसायी अर्यालको अनुभव छ । डपर्व सुरु भएसँगै फूलले बजार पाउन थालेको छ । पछिल्लो समय युवा पुष्प व्यवसायप्रति आकर्षित छन् । फूलको आयात रोक्न युवा लागेका छन् । भारतबाट आउने फूल र मालासँग प्रतिस्पर्धा गर्न भने यहाँका व्यवसायीलाई मुस्किल परेको छ । बुटवलको बजारमा भारतबाट सहजै फूलमाला आउँछ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ चम्कीपुरस्थित फोकस मल्टी एग्रो कन्र्सन एण्ड रिर्सच सेन्टरमा ढकमक्क मखमली र सयपत्री फूल फुलेका छन् । दीपावली सुरूसँगै फार्ममा आबद्ध युवालाई फूलबारीमा फूल टिप्न र माला गाँस्न व्यस्त छन् । सञ्चालकसहित कृषि विषय अध्ययन गरेका विद्यार्थी ओजेटिको लागि आएकासमेत फूल टिप्न र माला बनाउन व्यस्त छन् ।फार्मका प्रबन्ध निर्देशक राजेश कुँवरले पाँच जना युवा मिलेर विगत चार वर्षदेखि कृषि फार्म सञ्चालन गर्दै आएको बताए । कृषि विषय अध्ययन पूरा गरेका तथा पढ्दै गरेका युवा सरोज भट्टराई, किरण तिमिल्सिना, सञ्जय ज्ञवाली र विवेक ज्ञवालीसमेत फार्मका सञ्चालक हुन् । सुरुमा रु दुई लाख लगानीमा सञ्चालन गरिएको फार्ममा अहिले करिब रु ३० लाख बढी लगानी पुगेको उनी बताउछन् ।

गत वर्ष आठ कट्ठामा फूल खेती गरिएकोमा अहिले १५ कट्ठा क्षेत्रफलमा लगाइएको फार्मका प्रबन्ध निर्देशक कुँवरले बताए । उनीहरुले दाङ र अर्घाखाँचीमा पनि यस वर्षदेखि जग्गा भाडामा लिएर फूल खेती गरेका छन्। “हामीले उत्पादन गरेको फूलमाला दसैँअघिबाट बिक्री हुँदै आएको छ, यस वर्षदेखि त दाङ र अर्घाखाँचीमा पनि उत्पादन गरेर बिक्री गर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “तिहारका लागि अहिलेसम्म टिपेका फूल र बनाएका माला आज र भोलि सबै बिक्री हुँन्छ ।”

फार्ममै पुग्ने ग्राहकलाई बजार भाउभन्दा मालामा रु २० र फूलको प्रतिकिलो रु ५० सस्तोमा बिक्री गर्नेसमेत व्यवस्था गरिएको छ । अहिले फार्मबाट माला रु सय र सयपत्री फूल प्रतिकिलो रु पाँच सय ५० सम्ममा बिक्री भइरहेको छ । फार्ममा फूलखेतीसँगै फलफूल र तरकारी खेती पनि गरेका छन् । कृषि पढ्दै गरेका १७÷१८ जना विद्यार्थी ओजेटिको लागि आएको उनले बताए ।

उत्पादन गरेको माला भण्डारण गरी राख्नको लागि ‘कोल्ड स्टोर’को अभावका कारण पहिला नै उत्पादन गरेका माला राख्न समस्या भएको उनको गुनासो छ । उनीहरूले स्थानीय बुटवल जैविक कृषि उत्पादन सहकारी संस्थाले निर्माण गरेको कोल्ड चेम्बरमा भाडा तिरेर स्टोर गर्ने गरेका छन् । “भाडा तिरेर कोल्ड स्टोरमा राख्दा उत्पादनको लागत बढ्छ”, उनले भने, “उत्पादन भएको फलफूल, फूल राख्न सरकारी निकायबाट एउटा कोल्ड चेम्बर वा स्टोरको माग गरेका छौँ ।”

बुटवलमा पहिलोपटक व्यावसायिक फूलखेती सुरू गरेका उनीहरूले विभिन्न जिल्लामा पुगेर पुष्प खेतीसम्बन्धी तालिमसमेत दिँदै आएका छन् । अहिले वार्षिक २०–२५ कृषक समूह र विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणका लागि आउने गरेको कुँवरले बताए ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिलमा पुष्पखेती गर्दै आएका युवा व्यवसायी सुरज गुप्ताको परिवारका छ जना दाजुभाइ यसैमा सक्रिय छन् । करिब छ दशकदेखि नर्सरी व्यवसायमा जमेका गुप्ता परिवार तीन पुस्ता यसै व्यवसायमा रहेको गुप्ता बताउछन् । जिल्लाका विभिन्न छ स्थानमा करिब आठ बिघा क्षेत्रफलमा नर्सरीको प्लान्ट सञ्चालन गर्दै आएको र त्यसैबाट पूरै परिवारनै चलेको उनी बताउछन् ।

यस्तै, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ भगलापुरका झविन्द्र पौडेलले यस वर्ष करिब एक बिघा जग्गामा सयपत्री फूलको खेती गरे । विगत सात वर्षदेखि पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आएका पौडेलले गाईपालन र फूलखेती गर्दै आएको बताए । फूलका बिरुवा, फूल र तयारी माला बिक्री गर्दै आएको उहाँले बताए । “उत्पादन गरेको फूललाई बजारको चिन्ता छैन, धेरैजसो फूल स्थानीय बजारमै खपत हुने गरेको छ”, उनले भने, “यस वर्ष फूल बिक्रीबाट रु १० लाख बढी आम्दानी हुने आश गरेका छौँ ।”

तिहारमा सर्वाधिक खपत हुने भएकाले माग बढी हुने तथा उचित मूल्य पाइने पुष्प व्यवसायी बताउँछन् । नेपालमा करिब छ सय किसिमका फूल पाइने भए पनि तिहारमा मखमली, सयपत्री र गोदावरी फूलको माग बढी हुन्छ । लुम्बिनी प्रदेश फूलखेतीका लागि अनुकूल र सुहाउँदो हावापानी रहेको छ ।प्रदेशका १२ वटै जिल्लामा विभिन्न जातका फूलखेती हुने गरेको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयकी बागवानी विकास अधिकृत सुनैना बरालीले लुम्बिनी प्रदेशका सबै जिल्लामा फूल खेती राम्रो हुने गरेको बताए ।

निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका १२ जिल्लाको २८ हेक्टर क्षेत्रफलमा यस वर्ष फूलखेती भएको छ । लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको र लुम्बिनीमा अहिले करिब ८० प्रतिशत फूल आन्तरिक उत्पादनबाट धानिएको बागवानी विकास अधिकृत बरालीले बताए । बिरुवा रोपेको दुई महिनाबाट उत्पादन लिन सकिने र वर्षमा तीन पटकसम्म खेती गर्न सकिने भएकाले किसान फूलखेतीमा आकर्षित भएको उनको भनाइ छ । प्रदेशका बाह्रवटै जिल्लामा पुष्प व्यवसाय प्रवद्र्धन गर्न ज्ञान केन्द्रबाट किसान अगुवालाई पुष्पखेतीको तालिम दिने, बजारीकरणमा सहयोग गर्ने, केही कृषि उपकरणसमेत प्रदान गर्ने काम भएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.