काठमाडौं । अपरेशन महाहण्ट–७’ बाट नेपाली सेनाले बाँकेमा हतियारसहित ९ जनालाई पक्राउ गरेको छ। बाँके राष्ट्रिय निकुञ्जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त टोलीले हतियारसहित निकुञ्ज इलाकाभित्र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई पक्राउ गरेको जनाएको हो।
सल्यानको कालिमाटी गाउँपालिकाका भीमबहादुर खनाललाई पक्राउ गरी थप सोधपुछ गर्दा निकुञ्जको सिमावर्ती क्षेत्र वरपर बसोबास गर्ने खनाल सहित ९ जनालाई पक्राउ गरेको हो । सल्यानकै रत्न थापा मगर, कृष्ण बहादुर थापा, सोमबहादुर खत्री, टेक बहादुर कुंवर, कुमार थापा, धनबहादुर थापा, देव प्रसाद थापा र तिलक डांगी प्रकाय गरेको सैनिक जनसम्पर्क निर्देशनालय जंगी अड्डाले बताएको छ।
गोठ तथा घर नजिकको झाडीहरुमा उनीहरुले लुकाई छिपाई राखेको अवस्थामा बरामद भएका भरुवा ६ थान बन्दुक आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको छ। ‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ।
