मकवानपुर । बागमती प्रदेशसभा बैठक अनिश्चित बनेको छ । सत्तापक्ष र प्रतिपक्षबिचको विवादका कारण प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा प्रदेशभा बैठक अनिश्चित बनेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन सरकारको कदमविरुद्ध पाँच दलीय गठबन्धनले संघर्ष गरेको थियो ।
बागमती प्रदेशमा पनि त्यसको प्रभाव स्वाभाविक रूपमा परेको थियो । उक्त घटनाले एमाले विभाजन हुनका साथै संघदेखि प्रदेशसम्म एमाले सत्ताबाट बाहिरिनुपर्ने अवस्था निम्तियो । एमाले अहिले संघ र सबै प्रदेशमा प्रतिपक्षको भूमिकामा छ । एमालेले संघीय संसद् र प्रदेशसभालाई विभिन्न बहानामा अवरुद्ध गर्दै आएको छ । बागमती प्रदेशमा विगत एक वर्ष अघिदेखि प्रदेशसभा बैठक प्रभावकारी रूपमा अघि बढ्न नसकेको हो । त्यस यता प्रदेशसभाबाट कानुन निर्माण प्रक्रिया लगभग ठप्प छ ।
