भर्खरै : Sorry, your browser does not support inline SVG.
‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास | १४० टन भग्नावशेषमुनि ८ दिन बिताएका व्यक्ति जीवितै उद्धार, भेनेजुएलामा चमत्कारिक घटना | पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोकिने |

बाढीपहिरोबाट देशभर जनधनको व्यापक क्षति

बाढीपहिरोबाट देशभर जनधनको व्यापक क्षति

काठमाडौँ । मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री खाँणले मनसुन शुरु भएयता भएका घटनाबारे जानकारी दिँदै गत जेठ ३१ देखि साउन १९ गतेसम्म देशका विभिन्न जिल्लामा ६१९ प्राकृतिक विपत्तिका घटना भएका बताए । ती घटनाबाट सिन्धुपाल्चोक, डोटीलगायत ५६ जिल्लामा ६६ जनाको मृत्यु, ४० जना बेपत्ता र २१ जना घाइते भएका छन् । देशभर हालसम्म ६९० निजी घर पूर्णरूपमा क्षति र १६२ घरमा आंशिक क्षति भएको छ ।

विभिन्न ३७ वटा सरकारी कार्यालय क्षति भएका छन् । सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा सातवटा मोटरेबल पुल र २७ वटा झोलुङ्गे पुल तथा ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको मन्त्री खाँणले जानकारी दिए । देशभारका २५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ । सिन्धुपाल्चोक जिल्लालाई सबैभन्दा बढी प्रभावित पारेको जानकारी दिँदै मन्त्री खाँणले असार १ गते राति मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा मेलम्ची, इन्द्रावती र याङ्ग्री तथा लार्के नदीमा आएको बाढीमा परी पाँच जनाको मृत्यु, २० जना बेपत्ता र छ घाइते भएका थिए ।

त्यसैगरी ३३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवन तथा मेलम्ची खानेपानी आयोजनाको हेडबक्र्ससमेत क्षति पुगेको गृहमन्त्री खाँणले जानकारी दिए । उहाँले घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय पालिकाको समेत समन्वयमा जिल्लास्थित सुरक्षा निकायबाट खोज तथा उद्धारको काम गरिएको जानकारी दिए ।

विसं २०७८ असार २ गते बिहान ७ बजे गृहमन्त्रीको उपस्थितिमा नेपाली सेनाका रथी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवं गृह मन्त्रालयका सम्बन्धित पदाधिकारी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखसहितको आकस्मिक बैठक बसी खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउनुका साथै बाढीबाट विस्थापित परिवारका लागि राहत तथा सहायता सामग्रीसहित पठाइएको थियो ।

गृहमन्त्रीको संयोजनमा सबै सुरक्षा निकाय तथा सरोकारवाला विभिन्न मन्त्रालयको बीचमा बैठक बसी क्षति र नोक्सानीको आँकलन गरी पुनःनिर्माण र पुनःस्थापनाको कार्ययोजना बनाई तत्काल कार्य शुरु गर्न निर्देशन भएबमोजिम तथ्याङ्क सङ्कलन गर्ने र सम्भावित जोखिम आँकलन गर्ने काम शुरु गरिएको छ । बाढी आउनुको मुख्य कारण पत्ता लगाउनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, जल तथा मौसम विभाग, जलस्रोत तथा सिँचाइ विभाग, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् विज्ञ र इञ्जिनीयरिङ अध्ययन संस्थान पुल्चोकका विज्ञलगायतका टोली अवलोकनका लागि गएको थियो ।

बाढीबाट त्यस क्षेत्रमा भएको जनधनको क्षतिका कारण प्रभावित जनजीवन विस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास हुँदाहुँदै २०७८ साउन १६ र १७ गते राति मेलम्ची खोलामा लेदो, गेग्र्यानसहितको बाढीले ५३ घर, हेलम्बु गाँउपालिका जोड्ने एउटा पक्की पुल, अर्को झोलुङ्गे पुल, एक सामुदायिक भवनमा क्षति हुन गएको गृहमन्त्रीले जानकारी दिए । उहाँले हेलम्बु जाने बाटो पूर्णरूपमा अवरुद्ध भएकाले उक्त स्थानमा जान वैकल्पिक बाटोका रूपमा काठमाडौँ–सुन्दरीजल सडक, पार्टी भञ्ज्याङ–चित्रे सडक साथै कुटुमसाङ्गा हुँदै मेलम्ची खानेपानीको मुहानसम्म पुग्ने सडक सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।

विज्ञ टोलीले मेलम्चीको मुहानको जोखिम अध्ययन गर्नुका साथै सुन्दरीजल, पाटीभञ्ज्याङ हुँदै हेलम्बु पुग्ने वैकल्पिक बाटो सञ्चालन गराउने तथा हेलम्बुको चनौटे र क्युउल जोड्ने बेलिब्रिज भौतिक योजना मन्त्रालयले निर्माण गर्ने निर्णय भएको पनि मन्त्री खाँणले बताउनुभयो । मेलम्ची बाँधस्थलमा भएको क्षति र सम्भावित जोखिमको आँकलन खानेपानी तथा सरसफाइ मन्त्रालयले प्राधिकरणसँगको संयुक्त टोली बनाई गर्नेसमेत निर्देशन भएको उहाँले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.