भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

बालबालिका यार्सा टिप्न गएपछि विद्यालय एक महिनाका लागि बन्द

बालबालिका यार्सा टिप्न गएपछि विद्यालय एक महिनाका लागि बन्द

बझाङ । बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएको हो।

उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द भएका छन् । धेरैजसो विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् । विद्यालय असार १ गतेतिर मात्र खुलाउने तयारी छ।

विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने धेरैजसो विद्यालय बन्द छन् । यी विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भइ यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन् । यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गर्दछन् ।

ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लैजाने गरेको साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले बताउनुभयो ।

बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट सात लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि वन खुल्ला गरिएको थियो । त्यही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.