भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बालबालिका यार्सा टिप्न गएपछि विद्यालय एक महिनाका लागि बन्द

बालबालिका यार्सा टिप्न गएपछि विद्यालय एक महिनाका लागि बन्द

बझाङ । बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द भएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि विद्यालय बन्द गरिएको हो।

उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द भएका छन् । धेरैजसो विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् । विद्यालय असार १ गतेतिर मात्र खुलाउने तयारी छ।

विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली र मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने धेरैजसो विद्यालय बन्द छन् । यी विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टामा एक महिना बिदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भइ यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

अघिल्ला वर्षमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन् । यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा सङ्कलन गर्न लेकतिर जाने गर्दछन् ।

ज्येष्ठ नागरिकभन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लैजाने गरेको साइपाल गाउँपालिकाका स्थानीयवासी दीपक बोहराले बताउनुभयो ।

बझाङको साइपाल गाउँपालिकामा यार्सा सङ्कलनकर्ताबाट सात लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यही वैशाख १० गतेदेखि यार्सा सङ्कलनका लागि वन खुल्ला गरिएको थियो । त्यही दिनदेखि आजसम्म सात सय ५२ जना साइपाल गाउँपालिकामा यार्सा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.