सिन्धुली । वीपी राजमार्गको यात्रा कष्टकर बन्दै गएको यत्रीहरुले बताएका छन्। सिन्धुली र काभ्रेका विभिन्न खोलाका पुल तथा कल्भर्टहरुको निर्माण सुस्त हुँदा यात्रा कष्टकर बनदै गएको उनीहरुले बताएका हुन । सुर्य विनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले सडकको मर्मत र पुल पुलेसा निर्माण नगरिदिएका कारण एम्बुलेन्स समेत घण्टौं जाममा पर्नु परेको गुनासो रहेको छ ।
नेपालथोक धुलीखेल खण्ड अन्तर्गत दुम्जाको घ्याम्पे खोलामा आएको बाढीका कारण बारम्बार यातायात बन्द हुने गरेको छ । काभ्रेको मंगलटारमा लेदो सहितको पहिरो खसिरहेको छ भने सिन्धुलीको गोलन्जोरे खनियाखर्क क्षेत्रमा पनि लेदो खस्दा यात्रा कष्टकर हुने गरेको छ । उक्त राजमार्गमा २० ठाँउ भन्दा बढि खोल्साबाट लेदो सहितको पहिरो झर्ने गरेको छ ।
काठमाडौंबाट पूर्वी पहाड र तराईलाई जोड्ने वीपी राजमार्गमा पछिल्लो समयमा सवारी चाप बढ्दै गएको छ । तर, निर्माण सामग्री जथाभावी राख्ने तथा वर्षायाममा सडक हिलाम्मे हुने भएकाले यात्रीहरुले सास्ती खेप्दै आउनु परेको छ ।
