भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

बेनी अस्पतालमा फिजियोथेरापी सेवा सुरु

म्याग्दी । म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ । जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त प्रमुख डा अञ्जु थापाले आइतबारदेखि फिजियोथेरापी सेवा सञ्चालन भएको जानकारी दिए । फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ ।

अस्पतालको निर्माणाधीन भवनको भुई तलामा छुट्टै कोठामा फिजियोथेरापी कक्ष स्थापना भएको छ । चार शय्या राखिएको छ । अस्पतालमा दैनिक पाँचदेखि १५ जनासम्म फिजियोथेरापी गर्नुपर्ने बिरामी आउने गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी सेवाका लागि आवश्यक उपकरण खरिद गरिएको थियो । फिजियोथेरापीका उपकरण खरिद गर्न प्रदेश सरकारले आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिले फिजियोथेरापिष्ट चिकित्सक कान्तिलक्ष्मी देवी कटुवाललाई नियुक्त गरेको छ । पछिल्लो समय बिरामीको सङ्ख्या बढेसँगै फिजियोथेरापी सेवा विस्तार गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।

फिजियोथेरापी सेवा लिन यसअघि म्याग्दीका बासिन्दा पोखरा, बागलुङ, काठमाडौं जाने गरेका थिए । बेनीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जाँदा हुने समय र रकमको बचत भएको छ । म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने बेनी अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवा विस्तार गरेको छ । साउन यता फिजियोथेरापीका अलावा ज्येष्ठ नागरिक उपचार कक्ष जेरियाट्रिक वार्ड, अत्याधुनिक एक्सरे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग उपचार सेवा सुरु गर्ने तयारी गरेको छ ।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । मिर्गौला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलाइसिस सेवा लिएका छन् ।

सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायको सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एक करोड ५० लाख रुपैयाँ मूल्य बराबरको डिजिटल एक्सरे मेसिन प्रयोगमा ल्याएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.