भक्तपुरमा मकर मेला

भक्तपुरमा मकर मेला

भक्तपुर । माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ ।

घीउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वमा भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीले आज पूजा एवं दर्शन गरेका छन् । यी मन्दिरहरुमा रहेका देवताहरुको शरीरमा घीउ र चाकु लगाइदिने गरिन्छ ।

गर्भवती महिलाले प्रसादका रुपमा यी नारायण देवताको नाइटोमाथिको घीउ, चाकु खाएमा छोरा र नाइटोमुनी लगाइएको घीउ चाकु खाए छोरी लाभ हुने जनविश्वास छ । घीउ, चाकु सल्हुँको दिन आज भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ ।

हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको धुइँचो लाग्ने गर्दछ । बिहान नुहाइधुवाई गरी जीउमा तेल घसेर घीउ, चाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने र हष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्ने जनविश्वास छ ।

 


Thali Mobile Pvt.Ltd.