भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

भावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

भावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्र्तगत विभिन्न खाद्य सामग्री तथा लत्ता कपडा एवं सरसफाइका सामग्री उपलब्ध गराइएको छ ।

उपाध्यक्ष विष्णु बुढाका अनुसार गर्भवती र सुत्केरीलाई धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सी चामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना, बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल, नङकाट, नुहाउने साबुन र झोला दिने गरिएको छ । पालिकाको चालू आव २०७७÷७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो ।

गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, पारिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ । कार्यक्रमका लागि रु १५ लाख विनियोजन भएकोमा अपुग देखिएपछि थप रु १० लाख आवश्यक रहेको उपाध्यक्ष बुढाले बताउनुभयो ।

असार मसान्तसम्म एक हजार १७७ गर्भवती तथा सुत्केरीलाई पोषण कोसेली उपलब्ध हुने उपाध्यक्ष बुढाले भन्नुभयो, “नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमबाट खासगरी विपन्न वर्गका महिलाले निकै राहत महशूस गरेका छन् । घर आँगनमै पोषिलो कोसेली पाउँदा निकै खुसी भएको तिला गाउँपालिका– २ की मधु परियारले बताउनुभयो । एक छोरा एक छोरीको आमा भनेकी परियारले भन्नुभयो, “स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले गर्भवतीलाई निकै राहत पुगेको छ ।’’

सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको स्थानीयवासी सरस्वती रोकायाले बताउनुभयो । गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपूर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठूलो सहयोग मिलेको रोकायाले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “गरिबी र अशिषाका कारण यहाँका महिलामा कार्य बोझ निकै छ । पोषिलो खानेकुरा त के राम्रोसित आराम पनि पाउँदैनन् । उनीहरु अधिकांशको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ ।’’ उपाध्यक्ष कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरीको समयमा अपनाउनु पर्ने सावधानी र आवश्यक पोषणको महत्वका बारेमा गराएको जानकारीले शिशु तथा मातृमृत्यु दरलाई पनि कम गर्न सकिने निकै महत्वपूर्ण सन्देश दिएको छ । गर्भवतीलाई सचेत बनाएको रोकायाले बताउनुभयो ।”

आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षको कोसेली कार्यक्रम प्रभावकारी भएको वडाध्यक्ष कलिबहादुर रावतले बताउनुभयो । गाउँपालिकाले ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूलमन्त्रलाई अघि बढाएको छ । दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पत्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष बुढाले बताउनुभयो ।

गत आवमा नियमित गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी गराएका आमालाई मात्र पोषण कोसेली दिइएको थियो । पोषण कोसेली लिएर उपाध्यक्ष बुढा यतिबेला गाउँगाउँमा पुग्न थाल्नु भएको छ । सो अवसरमा अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तानभन्दा बढी बच्चा नजन्माउनका लागि सुझाव र राय सल्लाह दिने गरेकोे उहाँको भनाइ छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.