काठमाडौं । बैशाख ३० गते हुुने स्थानीय तह निर्वाचनका लागि बैशाख २८ गतेभित्र सवारी अनुमति पत्रका लागि निवेदन दिइसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ। उक्त दिन पत्रकारहरुले सञ्चारमाध्यमका लागि छुट्याइएको कोटाको आधारमा सवारी अनुमति पत्र (पास) पाउने व्यवस्था गरेको छ । उक्त दिन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु सवारी साधनहरुमात्रै गुड्नेछन् ।
निर्वाचन आचारसंहिता अनुसार मतदानको दिन दिन मतदातालाई सवारी साधन प्रयोग गरी ओसारपसार गर्न पाइँदैन । मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट दलका उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई पास उपलब्ध गराइन्छ ।
निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदान स्थलसम्म आउजाउ गर्न अनुमति प्राप्त सवारीसाधन प्रयोग गर्नुुपर्ने बताइएको छ । उक्त दिन एम्बुलेन्स, शव वहान, खानेपानीका ट्यांकर, दमकल, दूरसञ्चार, अस्पताल, विद्युत् र निलो रंगका नम्बर प्लेट भएका गाडीहरुलाई सवारी पासको अनुमति पर्नेछैन । यस बाहेक अन्य सवारी साधनहरुलाई भने अनिवार्य रुपमा अनुमति पत्र (पास)को आवश्यक पर्नेछ ।
कसरी पाइन्छ अनुमति पत्र ?
बैशाख ३० गतेका लागि निर्वाचन आयोगले संवैधानिक आयोग, तिनका जिल्ला तथा प्रदेश कार्यालयका प्रतिनिधि, कूटनीतिक नियोग र नियोगबाट खटिने अवलोकनकर्ता, आयोगबाट आमन्त्रित अतिथि, राष्ट्रसंघीय नियोगका प्रतिनिधि, निर्वाचन आयोगले खटाएका अनुगमनकर्ता, साझेदार निकाय, अन्तर्राष्ट्रिय संघसंस्थालगायतलाई पासको व्यवस्था गरेको हुन्छ भने सरकारी कार्यालय र निजी कार्यालहरूलाई नियमन गर्ने निकायको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउँछ ।
यता पत्रकारहरुले मतदानको दिन सवारी साधन प्रयोग गर्न सूचना विभागको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट पास पाउनेछन् । आयोगले यसपटक भने सञ्चार माध्यमहरुलाई सवारी पासका लागि कोटा छुट्याइएको छ ।
ब्रोडसिट दैनिक पत्रिकालाई कार्यालय प्रयोजनका लागि बढीमा ५ र समाचार संकलनका लागि बढीमा २० वटा पास पाइन्छ भने अन्य दैनिक पत्रिकाहरुलाई कार्यालय प्रयोजनमा ५ र समाचार संकलनमा १० वटा पास पाउने व्यवस्था गरेको छ ।
त्यसैगरी साप्ताहिक पत्रपत्रिकालाई ३ वटा पास, टेलिभिजनका लागि बढीमा १० र रेडियोरएफएमले कार्यालय प्रयोजनका लागि एउटा र समाचार संकलनका लागि ७ वटा सवारी पास पाउने व्यवस्था आयोगले गरेको छ ।
यस्तै आयोगले अनलाइन डिजिटल पत्रपत्रिकाहरुका लागि कार्यालय प्रयोजनका लागि २ वटा र समाचार संकलनका लागि ५ वटा पासको कोटा छुट्याइएको छ भने प्रत्येक संस्थामा फोटोपत्रकारका लागि बढीमा ७ र राष्ट्रिय समाचार समिति (रासस)का लागि बढीमा ५ वटासम्म पास पाउने बताइएको छ ।
यस्तै उपत्यका बाहिरका सञ्चारमाध्यमका लागि सूचना विभागबाट जारी पास वा पत्रकार महासंघ जिल्ला शाखाको सिफारिसमा बढीमा ५–५ वटाको दरले जिल्ला प्रशासन कार्यालयबाट पास लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
