भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

माछा र बङ्गुरपालन गरी आत्मनिर्भर

माछा र बङ्गुरपालन गरी आत्मनिर्भर

कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत रहनुभएको छ । विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र माछापालन व्यवसायलाई अँगाल्दै आउनुभएको छ । दिउँसोपख चौधरी विद्यालयमा काम गर्नुहुन्छ । विद्यालयमा बिदा भएपछि र विद्यालय सञ्चलन हुनुअघि घरमै बङ्गुर र माछापालनको कार्यमा व्यस्त रहँदै आउनुभएको छ ।

चौधरीको बङ्गुरफार्ममा ११ वटा बङ्गुर पालिएका छन् । पन्ध्र कठ्ठा जग्गामा रहेको दुई पोखरीमा माछापालन गरिएको छ । माछापालन र बङ्गुरपालनका लागि चौधरीले गाउँको सहकारी र समूहबाट गरी रु छ लाख बढी कर्जा लिनुभएको छ । बङ्गुरफार्म निर्माण गर्न र बङ्गुरका पाठा खरिद गर्न मात्रै रु पाँच लाख लगानी गरिएको चौधरीले बताउनुभयो । “माछापालनको कार्य पाँच वर्ष अघिदेखि नै गर्दै आएका हौँ”, चौधरीले भन्नुभयो, “बङ्गुरपालन गरेको एक वर्ष पुग्नै लागेको छ ।” वर्षमा माछा बिक्री गरेर रु तीन लाख जति आम्दानी हुने गरेको छ । दश महिनाको अवधिमा दुई बङ्गुर बिक्री गरेर चौधरीले रु ४० हजार आम्दानी गर्नुभएको छ ।

“बङ्गुरले पाठा दिन सुरु गरेपछि आम्दानी बढ्छ”, उहाँले भन्नुभयो, “एउटै पाठा रु तीन हजारदेखि चार हजारमा बिक्री हुन्छ । एउटै बङ्गुरले एक बेतमै छ देखि १० वटासम्म पाठा जन्माउने गर्दछ । फार्ममा पालिएका बङ्गुरमध्ये १० वटा पोथी छन् ।” पोखरीमा पालिएका माछा गाउँमै रु ३५० प्रतिकिलोका दरले बिक्री हुने गरेको छ । बङ्गुरका पाठा खरिदका लागि टाढाका व्यापारी फोनमार्फत सम्पर्कमा रहेको चौधरी बताउनुहुन्छ । विद्यालयबाट महिनामा चौधरीले रु १० हजार जति तलब थाप्दै आएका छन् । विद्यालयबाहेकको समयमा काम गरेर त्योभन्दा बढी आम्दानी हुने गरेको छ ।

चौधरी विद्यालय गएको बेला उहाँका श्रीमती रुपा चौधरीले बङ्गुर र माछापालनको कार्यमा सहयोग गर्नुहुन्छ । “माछा बङ्गुरलाई चारो खुवाउनेलगायत कार्य मैले दिउँसोको समयमा गर्छु”, रुपाले भन्नुभयो, “त्यसपछिको काम श्रीमान्ले हेर्दै आउनुभएको छ । विद्यालयकै मुख ताकेर बसेको भए अतिरिक्त आम्दानी हुँदैनथ्यो ।” चार जनाको परिवारको खर्च सहजरूपमा चलेको उहाँ बताउनुहुन्छ । श्रीमान्ले खोलेको बङ्गुरफार्म र माछापालनसँगै रुपाले घरमा रहेको १० कठ्ठा जग्गामा तरकारी खेतीसमेत गर्नुहुन्छ ।

तरकारी खेतीको कमाइबाट आउने रकम चौधरी दम्पती सहकारी र बैंकमा बचत गर्दै आउनुभएको छ । तरकारी खेतीबाट वर्षमा रु दुई लाख जति आम्दानी हुने गरेको छ । बेलडाँडी गाउँका अन्य युवासमेत तरकारी खेती, बङ्गुर, कुखुरा र माछापालनको काममा संलग्न छन् । पहिला धेरै युवा रोजगारीका लागि निर्माण श्रमिकका रूपमा काम गर्न भारततर्फ जाने गरेका थिए । हाल गाउँमै व्यावसायिक काम गर्न थालेपछि भारततर्फ जाने युवाको सङ्ख्या पातलिँदै जान थालेको प्रगति महिला सामुदायिक वनका अध्यक्ष अमरबहादुर साउद बताउनुहुन्छ ।

“गाउँमै युवाहरू काम गरी स्वरोजगार भएका छन्”, उहाँले भन्नुभयो, “युवाका हौसला बढाउनका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरी सहयोग गर्नुपर्छ ।” युवा बङ्गुर, माछापालन र कुखुरापालनमा संलग्न छन् भने महिला व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर भएको उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.