मुआब्जा विवादले विराटनगर रेलवे निर्माण अवरुद्ध

मुआब्जा विवादले विराटनगर रेलवे निर्माण अवरुद्ध

विराटनगर । विराटनगर रेलवे निर्माण अवरुद्ध भएको छ । भारतको बथनाहबाट विराटनगर हुँदै कटहरी गाउँपालिकासम्मको १८ दशमलव १ किलोमीटर रेलमार्ग निर्माण मुआब्जा विवादका कारण अवरूद्ध भएको हो । स्थानीयले मागअनुसार जग्गाको मुआब्जा नदिइएको भन्दै संघर्ष समितिसमेत गठन गरेका छन् ।

समितिसँग सरकारी अधिकारीले पटकपटक वार्ता गरे पनि टुंगोमा नपुग्दा बथनाह–विराटनगर रेलमार्ग विस्तारको काम रोकिएको अधिकारीहरुले बताएका छन् । रेलवेको लम्बाइ भारततर्फ ५ र नेपालतर्फ १३ गरी जम्मा १८ दशमलव १ किलोमीटर रहेको छ ।रेलवे निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जामा सहमति हुन नसकेपछि विवाद कायमै रहेको छ ।

सरकारले २०६८ साल असारमा रेलवेका लागि १ सय १९ दशमलव ८ बिगाहा जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरेको थियो । भने ९८ बिगाहा जग्गा अधिग्रहण गरे पनि २१ दशमलव ८ बिगाहा जग्गामा विवाद कायमै रहेको छ । मुआब्जा विवादकै कारण कटहरी गाउँपालिका–१ स्थित हालको जिल्ला प्रहरी कार्यालय मोरङको तीन किलोमीटर पूर्वमा सिंघिया खोलापारि बन्ने रेलवे स्टेशन विस्तारको काम रोकिएको हो । भारतको बथनाहदेखि विराटनगरसम्मको रेलमार्गका लागि ट्र्याक खोल्ने काम पूरा भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.