काठमाडाैं । योगी नरहरिनाथले लेखेका ऐतिहासिक महत्वका पुस्तकको राष्ट्रिय अभिलेखालयले अभिलेखीकरण शुरु गरेको छ । योगीले सङ्ग्रह गरेका हस्तलिखित ग्रन्थलगायत दस्तावेज भने संरक्षण गरेर स्क्यानिङसमेत गरिने अभिलेखालयले जनाएको छ ।
पशुपति क्षेत्रस्थित मृगस्थलीको गोरक्षपीठमा रहेको आश्रममा अस्तव्यस्त पुस्तक संरक्षणका लागि अभिलेखीकरण शुरु गरिएको अभिलेखालयका अनुसन्धान अधिकृत मनिता न्यौपानेले बताए । योगी नरहरिनाथले ५७१ वटा पुस्तक लेखेका छन् ।
योगीलाई प्राप्त भएका पुस्तकसमेत पुस्तकालयमा राखिएको छ । पुस्तकालय माथिको कोठामा हस्तलिखित ग्रन्थलगायत महत्वपूर्ण दस्तावेज रहेको जनाइएको छ । योगीको निधनपछि गुठी संस्थानले आश्रममा थुनेर राखेको भवन २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएपछि धेरै पुस्तक बिग्रिएका छन् ।
पुस्तक बिग्रन लागेपछि श्री बृहदाध्यात्मिक परिषद्ले योगी नरहरिनाथ स्मृति पुस्तकालय सङ्ग्रहालय शुरु गरेको थियो । त्यहाँ राखिएका पुस्तकको अभिलेखालयले तीन दिनदेखि अभिलेख राख्न शुरु गरेको हो ।
