काठमाडौं । सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरीका बरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्मान गरेका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालीलाई दोसल्ला ओढाएर र सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा गृहमन्त्री श्रेष्ठले नेपालीको आरोहणमा सहयोगी भूमिका निर्वाह गरेको विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाइरेक्टर मिङ्मा डेविड शेर्पालाई पनि सम्मान गरे ।
साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आभार सहितको मन्तव्य व्यक्त गर्दै आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापविरुद्ध ऐक्यवद्ध छन् भन्ने सन्देश दिन सफल भएको चर्चा गरेका थिए ।
