भर्खरै : Sorry, your browser does not support inline SVG.

वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना कार्यक्रम

वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना कार्यक्रम

भक्तपुर । वागीश्वरी मावि कक्षा १२ र वागीश्वरी कलेज स्नातक तहका विद्यार्थीहरुको संयुक्त आयोजनामा कक्षा ११ र स्नातक प्रथम वर्षमा अध्ययनरत नवागन्तुक विद्यार्थीहरुलाई स्वागत, दीपावली, नेपाल संवत ११४३ र छठ पर्वको शुभकामना तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गण कमलविनायक र च्याम्हासिंहमा छुट्टाछुट्टै कार्यक्रम गरी सम्पन्न भएको हो ।

कमलविनायकमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले शिक्षामा मात्र जोड दिई अध्ययन गर्दा मानिस अपूरो हुने हुदा अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुले ध्यान दिनुपर्ने बताए ।

क्षमता र लगनशीलताको आधारमा विषय छनौट गरी गरेको अध्ययनले मात्र विशेषज्ञता हासिल गर्न सक्ने भन्दै आफ्नो भविष्य उज्ज्वल बनाउन आफूले आर्जन गरेको ज्ञानले देश र समाजको सेवा गर्नु पर्ने बताए । समाजवादउन्मुख संविधानको मर्मविपरीत शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट सरकार पन्छिदै गएको बताए ।

यस्तै च्याम्हासिंहमा भएको कार्यक्रममा अतिथि वागीश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर न.पा. वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले प्रकृतिको पूजा गरी मनाउने पर्व तिहारमा अखाद्य फलफूल तथा मिठाइको प्रयोगमा सचेत हुनुपर्ने बताए । जीवन रहे सबै रहने भएकाले संस्कृतिमाथि व्यापार गर्ने व्यापारीबाट सतर्क रहनुपर्ने उनको भनाइ छ ।

विशेष अतिथि एवं विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले यसवर्ष कक्षा ११ मा भर्ना भएका ७ सय ९४ जना नवआगन्तुक विद्यार्थी रहेको बताउँदै दीपावली, नयाँ वर्ष ने.सं. ११४३ र छठ पर्व अनुशासित रूपमा मनाउनुपर्ने बताए । विज्ञान सङ्कायका प्रो. डा. सिद्धिवीर कर्माचार्यले नेपालमा वर्षभरि नै विविध चाडपर्व भएकै कारण पश्चिमा देशहरुमा जस्तै डिप्रेशन तथा आत्महत्याका घटनामा कमी आएको बताए ।

भक्तपुर नगरपालिकाले १५ लाखमै एमबीबीएस पढाउने योजना ल्याउँदा पनि सरकारकै कारण ७०÷८० लाखमा पढ्न बाध्य बनाएर विद्यार्थीलाई त्यतातर्फ धकेलेको स्पष्ट पारे । वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले नेपाल संवत्बारे प्रष्ट पार्दै शंखधर साख्वाले ऋणमा डुबेका मान्छेहरुलाई आफ्नै पैसाले ऋण मुक्त गरेको खुशीयालीमा नयाँ वर्षको सुरुआत भएको बताए ।

बजारमा कम उपलब्ध वस्तुको मूल्य बढी हुने बजारशास्त्रको सिद्धान्तलाई उद्धृत गर्दै उनले घट्दै गएको मानविकीका जनशक्ति कालान्तरमा खोजी गर्नुपर्ने बताए ।

विद्यार्थीहरुले समयमै मानविकी विषय रोजेर अध्ययन गर्न अनुरोध गर्दै वागीश्वरीले वार्षिक एक करोडभन्दा बढी छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गर्दै आएको जानकारी गराउँदै उनले विद्यार्थीहरुले पनि वागीश्वरीको सबल पक्षको बारेमा घर, टोल, समाजमा प्रचार प्रसार गर्नुपर्ने बताए ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी मावि र कलेजको पहलमा ‘वागीश्वरी कलेज अफ म्यानेज्मेन्ट’ स्थापना गरी बीबीएको सम्बन्धन लिन सफल भएको बताए । क.व्य.स. सदस्य तथा शिक्षिका सुशिला कर्माचार्यले विद्यार्थीहरु शिक्षित मात्र भएर नपुग्ने भन्दै नैतिकवान भई सक्षम नागरिक बन्नुपर्ने औल्याइन् ।

विद्यार्थी करिना प्याठको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सहायक प्रअद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल, कलेजका मानविकी सङ्काय इन्चार्ज राजन फेलु, विद्यालयका व्यवस्थापन इन्चार्ज ग्याहेन्द्रप्रसाद दाहाल, विज्ञान इन्चार्ज निरु ताल्चाभडेल, विद्यार्थीहरु सुमित्रा कार्की, विनिता तामाङ, सरिना बाडे, गौरव लामिछाने, झलक खत्री, सदिक्षा मैनाली, श्रिया दिदिया, सयना थापाश्रेष्ठलगायतले शुभकामना दिएका थिए । कार्यक्रमपश्चात विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती देखाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.