सहकारी भित्रका देखिएका विकृति, विसंगती र चुनौती के ? यससंग बाझिएका समस्या समाधानका उपायहरु के ? भन्ने विषयमा केन्द्रीत रहेर भक्तपुर जिल्ला भित्रका सहकारी संघ÷संस्थाहरुले के कस्ता कार्यहरु अगाडि बढाइरहेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध सहकारी संस्थाहरुले के गरिरहेका छन् ? सस्थाका सञ्चालनहरु के गर्दै छन् भन्ने विषयमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुसंग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः सम्पादक
यहाँलाई स्वागत छ ?
धन्यवाद !
आराम हुनुहुन्छ ?
अँ । आराम छु ।
बचतकर्ताको रकम हिनामिना गर्ने, मनपरी लगानी गर्ने, करोडौं रकम ठगे भनेर सहकारीका विषयमा विभिन्न समाचारहरु बाहिर आएका छन् । यहाँ जिल्लामा कस्तो अवस्था छ ?
अहिले बजारमा सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम हिनामिना गरेको कुरा जुन आइरहेको छ । माइतीघर मण्डला, सहकारी विभागदेखि यो विगत एक महिना अगाडीदेखि भइरहेको विषय हो । यो सार्वजनिक चाँसोको विषय पनि भएका ले समाचार आउनु सोभाविक पनि छ । यो विषय संसद्मा पनि उठिसकेको अवस्था हो । यसरी हेर्दा, यो सहकारीमा सञ्चालकले बदमासी गरेको देखिन्छ ।
भक्तपुर जिल्लाको हकमा कुरा गर्दा तुलनात्मक रुपमा कम छ । जिल्लामा सञ्चालित सहकारीका सञ्चालकहरुले बदमासी गरेको देखिएको छैन । देशभरका सहकारीहरु मध्यमा लगभग ४०% बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा रहेका ४०% लाई १०० मान्दा लगभग ५० प्रतिशत त काठमाडौं भ्याली भित्र छन् ।
उपत्यकामा रहेका सहकारी मध्य जो कार्यक्षेत्र बढी लिई जथाभावि सञ्चालन गरेका संस्थाका सञ्चालकहरु अहिले भाग्न बाध्य छन् । नियत गलत भएकाहरुले बचतकर्ताहरुको रकम लिएर भागेका उदाहरण पनि धेरै छन् ।
सरकारले तीन खम्बे अर्थतन्त्रको रुपमा सहकारीलाई लिएको छ । सबैको समान आर्थिक हैसियत गर्ने जुन अवधारणा रहेको छ । तर सहकारीको त्यस्ता क्रियाकलाप हेर्दा के अर्थ लाग्छ ?
समग्रमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त बुझेका र कार्य सम्पादन गरेका सहकारी संस्थाहरुमा त्यस्तो समस्या छैन । त्यस्ता सहकारीले सदस्यहरुलाई समान व्यवहार, समान न्याय, समान अधिकार दिने गर्दछन् । तर अहिले बजारमा संकट देखिएका शिवशिखर, सिभिल, सुमेरुजस्ता थुप्रै संस्थाहरुले बचतकर्ताको बचत आफु खुसी सञ्चालकहरुले प्रयोग गरेका छन् ।
यस्ता संस्थाहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई पालना गरेनन् । बचतकर्ताले पनि कुरा उठाएनन् । त्यसैले यो समस्या आयो । सहकारीका मूल्य, मान्यता भनेको सहकारी सहकारीबीच वा सदस्यहरुबीच बिना भेदभाव कार्य सम्पादन गर्ने भन्ने छ । पारदर्शिता र इमान्दारिताका कुराहरु यसमा जोडिएका हुन्छन् । सहकारी ऐन, नियम तथा सिद्धान्तलाई पालन गर्ने भनेको हो । सहकारीका सदस्यहरुलाई सामाजिक र आर्थिक रुपले रुपान्तरण गर्ने हो ।
सञ्चालकहरुको आर्थिक र सामाजिक रुपान्तरण होइन्, यो कुरादेखि नै बेमेलका कुराहरु सुरु हुन्छ । सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका लागि खोलिएका सहकारी संस्थाहरु जब सञ्चालकहरुले बचतकर्ताको नाममा बचत सङ्कलन गरी त्यसलाई आफूखुसी प्रयोग गर्ने भएपछि त्यसमा समान व्यवहार गर्ने, समाज उत्थान गर्ने, सदस्यलाई उत्थान गर्ने कुराहरु आउँदै आउँदैन् । अहिले भइरहेको यहि हो । सहकारीमा फरकपन देखिएको कुरा यहि हो ।
भक्तपुर जिल्लाको कुरा गर्दा ?
भक्तपुरमा ४७० बचत तथा ऋण सहकारी संस्थाहरु छन् । यि मध्ये २०३ सहकारी संस्थाहरु जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध छन् । २ सय ३ संस्थाहरुको लागि हामी के भन्दै छौं भने सहकारी मूल्य, मान्यता जो सदस्यहरुबीच भेदभाव नगर्ने, सदस्य बाहेक वा गैर सदस्यहरुसंग कारोबार नगर्ने, सदस्यहरुलाई नै प्रवद्र्धन गर्नका लागि आफ्ना कार्यहरु सम्पादन गर्ने ।
जस्तै उदाहरणका लागि सहकारी सञ्चालनका मूलभुत सिद्धान्त भनेकै सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरण गर्नु हो । यस अन्तर्गत केही उद्देश्यहरु राखिएका हुन्छन् । अहिले हामी बचत तथा ऋण सहकारीको मात्रै कुरा गर्दैछौं ।
मूलभुत उद्देश्य अन्तर्गतः पहिलो– सदस्यहरुको फुजल खर्च घटाई बचत गर्ने बानीको विकास गर्नु हो ।
दोस्रोः सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणको लागि आफ्नो व्यवसायलाई राम्रो बनाउँनु हो । आफ्नो कामलाई राम्रो गर्नुप¥यो । व्यवसायलाई सीपमुलक, व्यवसायिक कामको बढवा दिन ऋण प्रदान गर्न सक्नु प¥यो ।
तेस्रोः तालिम र शिक्षाका कुराहरु आउँछन् । यसमा सदस्यहरुलाई सीपमुलक, क्षमता अभिवृद्धि लगायत विभिन्न तालिमहरु दिनु प¥यो ।
चौथोः बिमा, ¬रेमिट्यान्स् लगायत अन्य वित्तिय सेवाहरु सहकारीमार्फत गर्न सकिन्छ भन्ने कुराहरु उल्लेख हुनुपर्छ । सामाजिक सेवाका कुराहरु पनि राखिएका छन् ।
अब सहकारीका सञ्चालकहरुले बचत रकम आफुखुसी प्रयोग गर्ने भन्ने कुरा कतै पनि उल्लेख छैन । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. मा आवद्ध सहकारी संस्थाहरुलाई यी कुराहरु हामी पहिले नै सिकाइरहेका छौं । बुझाइरहेका छौं । हामी यस विषयमा अन्तरक्रियासंगै छलफल गर्छौं ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
संस्थापक, सञ्चालक र कर्मचारीहरु स्थानीय हुनुपर्छ भन्ने छ तर, अहिले जुनजुन संस्थाहरुमा समस्या आयो, सदस्यको बचत हिनामिना गरे तिनीहरु स्थानिय भन्दा पनि बाहिरका धेरै भेटिए यसमा सहकारी संस्थाको नियमन कमजोर भएको होइन र ?
सहकारी संस्थाहरु स्वनियममा चल्छन् भन्ने कुरा बुझ्न आवश्यक छ । स्वनियम भनेको के हो ? भने यसलाई सदस्यहरुले चलाउने हो । यो महत्वपूर्ण कुरा हो । यो कुरा जनमानसमा आइपुुगेको अवस्था छैन् । सरकार, सहकारी विभाग र सहकारी संस्थाहरुले यो कुरा बुुझाउन पनि सकेका छैनन् ।
म विगत २०५१ सालदेखि सिद्धीगणेश बचत तथा ऋण सहकारी संस्थामा संस्थापक कोषाध्यक्ष भएर कामगर्दै आइरहेको छु । यसरी कार्यरत रहँदा मैले बुझेको के हो भने, सहकारीमार्फत अरु वित्तिय सेवा र सहकारीले राम्रो सेवा दिन सक्छ भन्ने लाग्यो । जनतालाई विश्वास दिलाउन धेरै संघर्ष ग¥र्यौं । यसमा हामी सफल पनि भयौं । जनताको विश्वास आर्जन गर्न सक्ने सहकारीले वित्तिय सेवा राम्रो दिन्छ । त्यहि अनुसार सहकारी संस्थाहरु खोलिदै गए ।
देशभरी नै सहकारी संस्थाहरुको उत्पति भयो । २०५१ सालदेखि ०६० को अन्तरालसम्म त्यस्ता सहकारी संस्थाहरुको विकास राम्रै भयो । सहकारीले राम्रो गर्न सकेको अवस्थामा केही त्यस्ता व्यक्तिहरु आएर अब सहकारीमार्फत पनि रकम संकलन गर्न सकिन्छ है । संकलित रकमलाई हामी दुरुपयोग गर्न सक्छौ है भन्ने थाहा पाएपछि विभिन्न जिल्लाबाट खराब मनसाय बोकेका व्यक्तिहरु त्यस्तै नाम राखेर सहकारी संस्थाहरु खोल्न थाले । सहकारी क्षेत्रमा नियमक निकाय कमजोर छ है भन्ने कुराहरु थाहा पाए ।
नियमक निकाय भन्नाले सहकारी विभाग मात्रै थियो । यो २०७२ सालको संविधानपश्चात स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारमा बाँडफाँड भयो । पहिले त विभागले मात्रै हेर्नुपर्ने अवस्था थियो । त्यसमा जनशक्ति पनि प्रयाप्त थिएन । खराब मनसाय बोकेकाहरुले संकलित रकम अपचलन गर्न सकिन्छ भन्ने ठाने । त्यही अनुसार सहकारीलाई दुरुपयोग गर्दै गए । सदस्यहरुले मात्रै बचत गर्न पाउँने नियम हुँदाहुँदै तिनीहरुले सहकारी खोलेर रकम सङ्कलन जो सुकैसंग गर्न थाले ।
यस्ता बचतकर्तालाई म लोभि बचतकर्ता भन्छु । जो अहिले माइतीघर मण्डलामा सहकारी राम्रो छैन भनेर नारा जुलुस गरीरहेका छन् । उनिहरुले नि बुुझ्नु पर्ने कुरा के हो भने सहकारी संस्था भनेको सदस्यको नियन्त्रणमा चल्छ । तर बचतकर्ताले पनि ब्याज जहाँ धेरै आउँछ, त्यहाँ जम्मा गर्ने भन्ने लोभले फसे । सञ्चालकहरुले अपचलन गर्ने मनसाय राखे, उनीहरुले अलिकति लगानी गरेर अफिस राम्रो बनाइदिए, स्थानीय कर्मचारीहरु राखे ।
स्थानीय कर्मचारीमार्फत रकम संकलन भएपछि सञ्चालकहरुले मनपरी व्यापार, व्यवसाय गर्न थाले । सुन्दा अच्चम लाग्ला यो सुमेरु, शिवशिखर संस्थाका सञ्चालकहरुले आफ्नो प्राइभेट कम्पनीहरु २०–२५ वटा खोलेर सबै रकम जति त्यसमा लगानी गरे ।
समुदायमा आधारित सहकारी संस्था भन्ने आधार के हो त ?
म सहकारी क्षेत्रमा लागेको करिब ३० वर्ष भयो । तीस वर्षमा मैले बुझेको के हो भने, सहकारीमा बचत भएको रकम अहिलेसम्म मैले एक रुपियाँ पनि आफुखुसी चलाउन पाउँछु भन्ने लागेन र लाग्दा पनि लाग्दैन । त्यसरी रकम चलाएको पनि छैन् । त्यस्ता धेरै संस्थाहरु छन्, जो हामी स्थानीयले चलाएका छौं । स्थानिय बासिन्दाले चलाएको सहकारी इमान्दारीपूर्वक चलाएका छन् । त्यस्ता सहकारी संस्थाका सञ्चालकहरुले यो रकम सदस्यहरुको भन्ने ज्ञान हुन्छ ।
सामाजिक र आर्थिक रुपान्तरणको लागि सदस्यहरुलाई नै लगानी गर्ने सहकारीले सदस्यमा नै ऋण लगानी गरेर अगाडी बढ्छ । त्यसका लागि तालिम दिएको हुन्छ । सामाजिक सेवाका कुराहरु गरेको हुन्छ । भक्तपुरको सन्दर्भमा बाहिर जिल्लाबाट आएर शिबशिखर संस्था खोलेको थियो । हामीले सुन्दा भक्तपुरमा सञ्चालित सहकारी भन्ने लाग्ला, वास्तवमा शिवशिखर सहकारीको सञ्चालक स्थानिय थिएन । यसको सञ्चालक सहकारी बुझ्ने मान्छे भन्दा पनि रकम सङ्कलन गर्न आएका व्यक्ति थिए ।
सहकारीका विभिन्न कार्यक्रमहरुमा हामीले भनेका पनि थियौं, यसमा खराव नियत छ भनेर । स्थानीय सञ्चालक भएको सहकारीमा मात्रै सदस्य बनौं र कारोबार सञ्चालन गरौं भनेर धेरै पटक भनेका पनि थियौं । यो सूर्यविनायक नगरमा पनि सहकारी बुझेका भन्दा रकम सङ्कलन गर्ने उद्देश्यले सञ्चालित त्यस्ता धेरै संस्थाहरु छन् । सहकारी त बैंक तथा अन्य वित्तिय संस्थाहरु भन्दा फरक हो । रकम सङ्कलन गर्ने, मुद्दती ल्याउने, ब्याज लिने कार्य त सहकारी क्षेत्रको हँुदैहोइन ।
सहकारीको मुख्य कुरा सदस्यहरुलाई बचत गर्ने बानीको विकास गर्ने हो । काम गर्न सक्ने बेलामा बचत संचित गर्ने, आफुले काम गर्न नसक्ने बेलामा यसबाट केही फाइदा लिन सकोस भन्ने हुन्छ । महिनाको एक पटक बचतको कुरा नगर्ने, खालि धेरै पैसामात्र ल्याउनुस् भन्ने सहकारीमा कारोबार नगर्नुस् भन्छौं हामी । बचतकर्ताले मेरो सदस्य नम्बर कति हो ? भनेर संचालकसंग भन्नु पर्छ । नत्र जहाँ हामी बचत गर्छौं, त्यहाँ सदस्य बनेको होइन । सदस्य नम्बर दिएपछि मात्रै म सदस्य हो भनेर थाहा पाउँने नत्र ठग्ने मनसायकासाथ काम गरेको हुन्छ ।
सदस्य बनेर मात्रै बचत गर्नुपर्छ भन्ने कुरा आम नागरिकहरुलाई थाहा छ र ?
हो । त्यही कुरा धेरै जसोलाई थाहा छैन् भनेर त म भन्दै छु । हामीले बारम्बार विभिन्न ठाउँहरुमा, सहकारीका साधारण सभामा, सहकारीहरुले आयोजना गरेका तालिममा समेत यस्तो बताउँदै आएको छ । तर नागरिकहरुले यो कुरा अनुसरण गरिरहेको पाइँदैन् ।
मैले नै काम गर्ने सहकारी संस्थामा एक पटक के भयो भने, हाम्रो संस्थाबाट ऋण लिएर बचतकर्ताले ब्याज धेरै दिने संस्थाहरुमा बचत गर्न गएको उदाहरणहरु भेटियो । यो किन भयो ? भन्ने विषयमा हामीले भनेका कुराहरु सुन्ने फुर्सद नपाएर । दुईचार सय भत्ता दियो भने लिने ।
प्रतिवेदन दिन्छ पढ्ने होइन, खाजा खायो घर फर्कियो । यस्ता किसिमका सहकारी सदस्यले ब्याज जता धेरै पायो त्यहाँ बचत गर्न हिड्यो । यसले गर्दा हामीले गरेको मेहनत, सहकारीप्रति विश्वास जगाउँन गरेको प्रयासलाई के फाइदा त्यसैले यसमा कमजोरी छ । यस्ता कमी कमजोरीका कुराहरु आम नागरिकहरुलाई बुझाउँन सक्नु पर्छ ।
जिउँदाको जन्ती, मर्दाको मलामीका रुपमा पनि सहकारीलाई लिने गरिन्छ । तर सहकारीका क्रियाकलाप हेर्दा त ठग संस्थाहरु हुन भन्ने पो लाग्छ भनेर स्थानीय भन्छन् त ?
आर्थिक, सामाजिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ र खेल्नु पनि पर्दछ । मान्छेहरुले सहकारीलाई जिउँदाको जन्ती र मर्दाको मलामीका रुपमा लिएका पनि थिए र अझ पनि विश्वास रहेको छ । अहिले यो चर्तिकला किन आयो भन्ने विषयमा तीन वटा कुरा महत्वपूर्ण रहेका छन् ।
पहिलो– लोभि बचतकर्ता । मैले पहिले पनि भने उहाँहरुलाई सदस्य भनिन्न । बैंक तथा वित्तिय संस्थाहरुको आफ्नै नियम, कानुन हुन्छ । यसलाई राष्ट्र बैंकले नियमन गरिरहेको हुन्छ । तर सहकारी क्षेत्रलाई हाम्रो नियामक निकायले त्यति कडा गरेर हेर्न सक्दैन । यसरी हेर्नलाई पनि जनशक्तिको अभाव छ । जनशक्ति नै छैन भने कसरी अनुगमन गर्ने । सहकारीलाई नियमन गर्ने भनेको सदस्य आफैले हो ।
सञ्चालकहरुले पनि इमान्दारिता देखाउँनु पर्छ । स्वनियम भनेको यहि हो । नियमको पालन सदस्यले नगरेपछि, सञ्चालकले होस गुमाएपछि यस्तो अवस्था आउँछ ।
दोस्रो कुराः सहकारी क्षेत्रको क्षमता प्रयाप्त नभएको नियमक निकाय छ । तीसौं हजार सहकारी संस्था मध्ये बचत तथा ऋण सहकारीहरु त लगभग ६० प्रतिशत छन् । १५–१६ हजारको हाराहारीमा बचत तथा ऋण सहकारीहरुमात्रै छन् ।
यो संख्याले राम्रो, नराम्रो के कस्तो काम गरिरहेको छ भनेर नियमन गर्ने जनशक्ति खै ? नियमक निकायसंग जनशक्ति नभएपछि आफुले नै गर है भनेर भनेको अवस्था छ । म एउटा कार्यक्रममा जाँदै गर्दा संघीय विभागका रजिष्ट्रारले भन्नु भयो, ‘सहकारी संस्था भनेको भागि विवाह हो । बैंक भनेको मागी विवाह हो ।’ यसको उदाहरण भागी विवाहमा सबै कुरा आफुले नै गर्नुपर्छ । अरुको कुरा नसुनि आफै सक्षमा हुनु प¥यो । सहकारीले पनि सबै कुरा आफुले नै गर्ने हो । मलाई संटक भयो भनेर हार गुहार गर्ने कुरा आउँदैन् ।
यसरी हेर्दा त सहस्यहरु न मागि विहे, न भागि विहे तर माया पिरतीमा भुले भन्न सकियो होइन् र ?
यसलाई सहकारी अभियानले मात्रै सम्भव भएन भन्ने कुरा स्पष्ट हुन्छ । हाम्रो प्रयासले मात्रै सम्भव नभएपछि जिल्ला बचत तथा सहकारी संघको अध्यक्षका हैसियतले मैले भक्तपुरमा चार वटै नगरपालिकामा सम्पर्क बढाए र उहाँहरुलाई भने अबको नगरपालिका पनि नियमक निकाय हो । यो नियामक निकायले अबका दिनमा सहकारीको नियमन र अनुगमन मात्रै होइन, यस संगसगै जनमानसमा वित्तिय साक्षरता जगाउँनुपर्छ ।
नगरपालिकाका नीति तथा कार्यक्रमहरुमा नि यसलाई समेट्दै गएका छन् । प्रदेश सरकारले नि यसलाई प्राथामिकतामा राखेको अवस्था छ । संघीय सरकार अन्र्तरगत सहकारी समस्या समाधान दलले पनि प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा यो कुरा उल्लेख गरेको छ । अबको दिनमा वित्तिय साक्षरता प्रदान गर्नु पर्दछ । आम जनतालाई सहकारी के हो ? सहकारीले के गर्छ ? सदस्यहरु के हुन् ?
सदस्यता लिएरमात्रै हुदैन कारोबार कसरी गर्ने भन्ने विषय बुझाउन आवश्यक छ । जिल्ला बचत तथा ऋण सहकारी संघले पनि वित्तिय साक्षरता लक्षित कार्यक्रम अगाडि बढाएको छ । तीनै तहका सरकारहरुलाई पनि वित्तिय साक्षरता कार्यक्रम गर्न अनुरोध गर्दछु ।
जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध सहकारीहरुको अवस्था के छ ?
जिल्ला बचत तथा ऋण सहकारी संघमा २०३ वटा सहकारी आवद्ध छन् । २६७ वटा सहकारीहरु बाहिर छन् । हाम्रोमा आवद्ध सहकारीको सन्दर्भमा साधारणसभा नियमित गर्नुपर्ने, कामको लेखाजोखा र अन्तर लगानीका कुरामा ध्यान दिएका छौं । सहकारीहरुमा संकट आयो भने हामी जिल्ला सहकारी संघबाट सहयोग गर्छौं । जिल्ला संघमा आवद्ध सहकारीलाई हामीसंग आवद्ध संस्थाले सहयोग गर्छ । जिल्ला बचत संघमा २ अर्ब २० करोड तरलता कायम छ ।
हामीसंग आवद्ध भएको संस्थामा केही भयो भने हामी तुरुन्त एक्सनमा जान्छौं । राम्रो काम गर्दागर्दै पनि बचतकर्ताहरु सबै एकै पटक रकम माग्न आए बैंकले त दिन सक्दैन, सहकारीको के कुरा गर्नु । यदि सहकारी संस्थाको सबै कुराहरु पारदर्शी छ भने यसको मतलव हामीले लगानी गरेको ऋण, लिएको बचत र रकम सञ्चालकले चलाएको छैन भन्ने बुझ्नु पर्छ । हल्लाको भरमा कोही माग्न आयो भने जिल्ला बचतमा आवद्ध सहकारीमा संघले सबैलाई हेर्ने गरी व्यवस्थापन गरेको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघहरुमा आवद्ध हुन नीतिगत कुरा खुल्ला छ । सबै सहकारीहरु आउँन पाउँछन् । तर सहकारीले संघमा आवद्ध हुन दरखास्त दिँदा हामी सञ्चालकले रकम चलाएको छ छैन हेर्छाै । सबैकुरा नहेरी जथाभावि सदस्यता दिदैनौं । बागमतीका १३ बटै जिल्लाहरु समेटेर संघ स्थापना गरिएको छ ।
राम्रो गर्ने सहकारीहरुलाई पुरुस्कृत र नराम्रो गर्नेलाई दण्डीत अथवा कारबाहीको भागिदारी बनाउँन जिल्ला बचत तथा ऋण सहकारी संघले कस्तो भूमिका खेल्छ ?
जिल्ला, प्रदेश र केन्द्रीय तहमा राम्रा सहकारी संस्थाहरुलाई पुरुस्कृत गर्ने परिपाटी छ । यसलाई सहकारीको स्तरीकरण पनि भन्ने गरेका छौं । ब्राण्ड दिने भन्ने पनि चलन एसियाली ऋण महासंघबाट भएको छ । अहिले म जहाँ काम गरिहेको छु, सिद्धीगणेश बचत तथा ऋण सहकारी संस्था त्यो एसियाली स्तरको सहकारी हो ।
यसलाई एसियाली ऋण महासंघको स्ट्याण्डर्डमा छ भनेर प्रमाणित गरिदिएको छ । जहाँसम्म कारबाहीको कुरा छ । यो संघहरुलाई अधिकार छैन् । संघहरुले गर्न पनि सक्दैनन् । बरु हामी गलत गरिरहेका संस्थाहरुलाई नियमन गर्नु प¥यो भनेर सहकारी विभागलाई, स्थानीय सरकारलाई, प्रदेश र केन्द्रलाई सिफारिस गर्न सक्छौं ।
अन्तमा, बचतकर्ता वा नागरिकहरुलाई केही सुझाव भए दिन सक्नु हुन्छ ?
सहकारी संस्थाहरुमा बचत गर्नु पूर्व सदस्य नभइ बचत गर्नु हुँदैन् भन्ने कुरा दोहो¥याउँछु । बैंक तथा वित्तिय क्षेत्रमा उपभोक्ता हुन्छन् । सहकारीमा मालिक हुन्छन् । फरक त्यो छ । मालिक भईसके पछि त्यसको नाफा नोक्सान आफुले नै व्यहोर्नु पर्छ । सहकारीले सदस्यता नदिएपछि बचतकर्ता मालिक बन्दैन् ।
जतिसुकै ब्याजको आश देखावस वा जतिसुकै लोभ देखावस त्यस्ता सहकारीमा बचत नगरौं । सहकारीको मालिक नै आफै भएको कारण म मालिक छु कि छैन, काम भयो कि भएन भन्ने कुरा जाँच गर्ने गर्नुस् । मेरो सदस्यता नम्बर कति हो ? त्यो सोध्नुस् । त्यो कुरा थाहा नभइकन बचत कँहि पनि नगरौं ।
साधारण सभा, लेखा परिक्षण प्रतिवेदनहरु नबुझाउने ठाउँमा नजानु होला । अन्तमा मेरो विचारलाई आम नागरिक कहाँ पु¥याइदिनु भएकोमा तपाईं र कैलाश खबर परिवारप्रति आभार व्यक्त गर्न चाहन्छु । धन्यवाद ।
