भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सर्वोच्चले खारेज गर्‍यो औद्योगिक क्षेत्रको भाडा विवादसम्बन्धी पुनरावलोकन

सर्वोच्चले खारेज गर्‍यो औद्योगिक क्षेत्रको भाडा विवादसम्बन्धी पुनरावलोकन

मुख्य बुँदा

सर्वोच्च अदालतले औद्योगिक क्षेत्रको भाडादर विवादमा पुनरावलोकन निवेदन अस्वीकार गर्‍यो।

भूतप्रभावी रूपमा बढाइएको भाडा उद्योगीले तिर्न नपर्ने अवस्था कायम।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पुनरावलोकन माग खारेज।

अब उद्योगीहरूले २०७९ सालदेखि लागू भएको भाडा मात्र तिर्नुपर्ने।

बक्यौता असुलीका लागि सरकारले यसअघि सात दिनको समयसीमा दिएको थियो।

अदालतको निर्णयले औद्योगिक क्षेत्रका उद्योगीलाई कानुनी राहत मिलेको छ।

काठमाडौं, ५ जेठ । औद्योगिक क्षेत्रका उद्योगीसँग भूतप्रभावी रूपमा बढाइएको भाडा असुल्ने सरकारी प्रयासलाई सर्वोच्च अदालतले पुनः अस्वीकार गरेको छ। औद्योगिक क्षेत्रको भाडादर विवादमा सरकारले माग गरेको पुनरावलोकन निवेदन सर्वोच्च अदालतले खारेज गरेको हो।

यस निर्णयसँगै विगतको मितिदेखि लागू हुने गरी बढाइएको भाडादरअनुसार रकम तिर्न उद्योगीहरू बाध्य नहुने भएका छन्। सर्वोच्च अदालतले यसअघि पनि भूतप्रभावी रूपमा भाडा वृद्धि गरेर असुली गर्न नमिल्ने फैसला सुनाएको थियो।

त्यसपछि सरकारी स्वामित्वको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उक्त फैसलाको पुनरावलोकन माग गर्दै निवेदन दायर गरेको थियो। तर न्यायाधीश विनोद शर्मा, सुनिलकुमार पोखरेल र नित्यानन्द पाण्डेको इजलासले पुनरावलोकनको अनुमति नदिने निर्णय गरेको छ।

अदालतको निर्णयपछि अब सम्बन्धित औद्योगिक क्षेत्रका उद्योगीहरूले २०७९ सालदेखि लागू भएको भाडा वृद्धिअनुसारको रकम मात्र तिर्नुपर्ने अवस्था रहेको छ।

यसअघि सरकारले बक्यौता रकम सात दिनभित्र बुझाउन निर्देशन दिएको थियो। तोकिएको अवधिमा भुक्तानी नगर्ने उद्योगीहरूको विद्युत् र पानी सेवा क्रमशः काट्न थालिएको अवस्थामै सर्वोच्चबाट पुनरावलोकन अस्वीकृत गर्ने आदेश आएको हो।

 


Thali Mobile Pvt.Ltd.