भक्तपुर। थथुबही परिसरमा मनाइने सम्यक महादान पर्वसँग सम्बन्धित सरोकारवालाहरूसँगको छलफलले यो वर्ष औपचारिकतामा सिमित गर्ने निर्णय गरेको छ ।
कोरोना महामारीलाई मध्यनजर गरी २०७७ माघ १ गते मनाइने सम्यक महादान पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय गरेको हो । बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले भीडभाड हुने गतिविधि तत्काल नगर्नु उपयुक्त हुने भन्दै यस वर्षको पर्व औपचारिकतामा सीमित गर्नु उचित भएको बताए ।
कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाले गरिरहेको गतिविधिबारे अवगत गराउँदै उनले नेपाल सरकारको स्वीकृतिमा भक्तपुर नपाले एच.डी.यु. सञ्चालन गर्ने तयारीमा जुटिरहेको बताए । उपस्थित सम्यक महादानसँग सम्बन्धित सरोकारवालाहरूले सम्यक महादान पर्व सामान्य पूजाआजामा सीमित गर्न सहमत भएको बताए ।
यो पर्व भक्तपुरमा प्रत्येक वर्ष, ललितपुरमा हरेक ५ वर्षमा र काठमाडौंमा १२ वर्षमा मनाइने परम्परा रहेको छ । छलफलमा प्रशन्नशील महाविहार क्वाठण्डौ, मंगल धर्मदीप महाविहार झौरबही, चर्तुब्रम्ह महाविहार दरबार क्षेत्र, बौद्ध समंकृत विहार कुथुबही र जयकृति महाविहार थथुबहीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
