१७ साउन २०७७ काठमाडौं । साढे दुई दशकदेखि बल्खुस्थित करोडौं पर्ने जग्गा व्यक्तिको कब्जामा रहेको पाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको उक्त जग्गा कम्पनीको प्रधान कार्यालयको स्वामित्वमा छ ।
तर तीन रोपनी जग्गा साबिक गोंगबु गाविस– ४ का रामकृष्ण कुँवरले २०५३ सालदेखि बिनाबहाल प्रयोग गरिरहेका छन् । बल्खुस्थित ललितपुर ढुंगा रोडा कम्पनी प्रालिका सञ्चालक उनले वाग्मती र बल्खु खोलाको बीचमा रहेको जग्गा कहिले भाडा त कहिले खरिद गर्ने बहानामा कब्जा गरेको बझिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले उक्त जग्गामा कृषि तथा तरकारी बजारका रूपमा तरकारी, फलफूल, किराना पसललगायत सञ्चालन गर्न विभिन्न व्यक्तिलाई भाडामा दिई रकम उठाउँदै आइरहेको देखाएको छ । २५ वटा सटर, ५५ स्टल बनाई बल्खु कृषि तथा तरकारी बजारलाई भाडा दिई कुँवरले मासिक ५ लाखभन्दा बढी रकम हात पार्दै आएकाे स्थानीयले बताएका छन् ।
