सरकार गठनको दौड सुरू, यसरी बन्ने भयाे समिकरण

सरकार गठनको दौड सुरू, यसरी बन्ने भयाे समिकरण

काठमाडौँ । अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नयाँ सरकार समिकरणको दौडमा दलहरु लागिपरेका छन् । सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल पक्षले परामर्श थालेको छ । प्रधानमन्त्री खोजीको गृहकार्य चलेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको नेकपाले आज जनता समाजवादी पार्टीसँग छलफल गरेको छ । जसपा नेताहरू पेरिसडाँडा नै पुगेर छलफल गरेका थिए । महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागि भएका थिए । अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेताको रिहाइ लगायतका बिषयमा सम्बोधन गर्नुपर्ने माग जसपाले राखेको बताइएको छ ।

नेकपा दुई समूहमा विभाजित भए पनि औपचारिकरुपमा विभाजित भएको छैन । ओली पक्षमा ७८ जना सांसद छन् भने प्रचण्ड–माधव पक्षमा ९६ जना सांसद रहेका छन् । नेकपामा हाल १ सय ७४ जना, कांग्रेससंग ६३ जना सांसद रहेका छन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहे पनि हाल कुल २ सय ६९ जना मात्र सांसद रहेका छन् ।

हाल नेकपासंग १ सय ७२, नेपाली कांग्रेसको ६१, जनता समाजवादी पार्टीको ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र स्वतन्त्र १ गरी २ सय ६९ जना सांसद छन् । आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल पक्षमा ९१, ओली पक्ष ८१, वामदेव पक्षमा १ साँंसद छन् ।

यसरी हेर्दा नयाँ सरकार गठन गर्दा प्रचण्ड–माधव ९१ र कांग्रेसका ६१ जना गरी हेर्दा १ सय ५२ जना साँसद पुग्छन् यो संख्या सरकार गठनमा पर्याप्त नै हुन्छ । जुन पार्टीले १ सय ३५ जना सांसद पुर्‍याउछ त्यही पार्टीको नै बहुमतको सरकार हुने पक्का छ । यता ओली पक्षका ८१ र कांग्रेस ६१ जना मिल्दा १४२ जना पुग्छ यो संख्या पनि नयाँ सरकार गठनका लागि प्रयाप्त नै छ । यसरी हेर्दा अहिले निर्णायक भूमिकामा नेपाली कांग्रेस नै देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.