भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यसको उत्थानको लागि सांस्कृतिक गुरुहरुको भूमिका र योगदान उल्लेखनीय रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरुको भेला कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले २०७४ सालमा बाँसुरी बाजा, २०७५ सालमा धाँ बाजा र २०७६ सालमा धिमाय बाजा प्रतियोगिता आयोजना गरेको र २०७७ सालमा कोभिडका कारण प्रतियोगिता गर्न नसकेको अवगत गराउनुभएको हो ।
यस वर्ष भक्तपुर नपाले सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने उद्देश्यअनुरुप सांस्कृतिक गुरुहरुको राय—सुझावलाई प्राथमिकतामा राखी सांस्कृतिक गुरुहरुको भेला आयोजना गरेको प्रजापतिले जानकारी दिए । भक्तपुर नपाले कोभिड महामारीलाई पनि अवसरको रुपमा लिई व्यापक जनताको स्वास्थ्य सेवाको निम्ति ख्वप अस्पताल भवन निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको बताउनुहुँदै उहाँले अक्सिजन प्लान्ट तथा ख्वप अस्पताल निर्माणमा अझ पनि जनताको आर्थिक र भौतिकका साथै नगरबासी जनताले नगरपालिकाप्रति पवित्र भावनाले सहयोग गरिरहेको बताए ।
भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरु आयआर्जन गर्ने राम्रो माध्यम पनि बनिरहेको छ भन्दै उहाँले भन्नुभयो, पर्यटकहरुबाट उठेका शुल्कबाट भक्तपुर नपाले यहाँका सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको जीर्णोद्धार र पुनःनिर्माण कार्यमा टेवा पुगेको छ । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुरबासी जनताको साथ र सहयोग पाएर नगरपालिकाले आफ्ना हरेक गतिविधिलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेलेको बताउनुहुँदै सांस्कृतिक गुरुहरु समाजका प्रतिष्ठित व्यक्तिहरु भएको प्रष्ट पारे ।
उक्त कार्यक्रममा शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यद्वय भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र ५ नं. वडाका वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले नयाँ पुस्तामाझ सांस्कृतिक गतिविधिबारे आकर्षण बढाउन र मूर्त अमूर्त सम्पदालाई जीवन्त बनाउन प्रतियोगिताहरुलाई महत्वका साथ अगाडि बढाइरहेको बतए ।
कार्यक्रममा उपस्थित सांस्कृतिक गुरुहरुले सांस्कृतिक महोत्सव सञ्चालन गरी सबै सांस्कृतिक गतिविधिको प्रदर्शनीको व्यवस्था गर्नुपर्ने, लोपोन्मुख अवस्थामा रहेको नाय खिँ बाजा, लाला खिं र म्हालीं बाजाको संरक्षण तथा प्रतियोगिता गर्नु आवश्यक रहेको, दाफा भजनप्रति नयाँ पुस्ताको आकर्षण बढाउन यसको प्रतियोगिता आयोजना गर्नु उचित हुने र अन्तरनगर वाद्यवादन प्रतियोगिता आयोजना गर्नुपर्ने, प्रतियोगिताको लागि माघ वा फागुन महिना उपयुक्त समय हुने राय–सुझाव प्रस्तुत गरे ।
