एजेन्सी । इरानी कुर्द महिला महसा अमिनीलाई युरोपेली सङ्घले सखारोभ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । महसा अमिनीलाई आफ्नो सर्वोच्च मानवअधिकार सम्मान दिने युरोपेली सङ्घले घोषणा गरेको हो ।
एक वर्षअघि महसा अमिनीको इरानी प्रहरीको हिरासतमा ज्यान गएपछि इरानमा ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन शुरु भएको थियो । अमिनीको सन् २०२२ को सेप्टेम्बर १६ मा ज्यान गएको थियो । उनलाई इरानको धार्मिक प्रहरीले इस्लामिक रिपब्लिकको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो ।
उनको नाममा ५३ हजार डलर राशिको सखारोभ पुरस्कार डिसेम्बर १३ मा युरोपेली संसदमा हुने एक समारोहमा प्रदान गरिने छ । यसअघि यस वर्षको नोबेल शान्ति पुरस्कार इरानमा बन्दी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिने घोषणा भएको छ ।
उनका परिवार र समर्थकहरुले उनको हत्या भएको दाबी गरेका छन् । युरोपेली संसदकी सभामुख रोबर्टा मेत्सोलाले २२ वर्षकी महसा अमिनीको निर्मम हत्याले एउटा ठूलो घटना साबित भएको र यसले महिला नेतृत्वको आन्दोलन शुरु गरेर इतिहास रचेको भनाई छ ।
