काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले आर्जन गरेको चार करोड ६८ लाख ४८ हजार अवैध सम्पत्ति अख्तियारले छानबिन गर्दै छ । उपसचिव ढुंगानाले सार्वजनिक पदको दुरूपयोग गरी अवैध रूपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको आधारमा छानबिन गर्न लागेको हो ।
छानबिनका क्रममा ढुंगानाले करिब पौने पाँच करोड अवैध सम्पत्ति आर्जन गरेको भेटिएको छ। ढुंगानाले निजामती सेवा प्रवेश गरेको मिति १९ साउन ०४९ देखि ३२ असार ०७५ सम्मको सम्पत्ति अख्तियारले छानबिन गरेको थियो । यस अवधिमा उनले आर्जन गरेको वैध सम्पत्ति ७९ लाख ५४ हजार रुपैयाँ मात्र रहेको जनाएको छ । तर, छानबिनमा उनीसँग पाँच करोड ३५ लाख रुपैयाँबराबरको सम्पत्ति भेटिएको थियो ।
नखुलेको चार करोड ६८ लाख सम्पत्ति ढुंगानाले पदको दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको कालोधन ठहर गर्दै शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ढुंगानाले गैरकानुनी रूपमा आर्जन गरेको चार करोड ६८ लाख जफत गरी पाउन मागदाबी समेत गरेको छ । स्रोत नखुल्ने सम्पत्ति श्रीमतीको नाममा समेत राखिएको पाइएपछि अख्तियारले त्यस्तो दाबी गरेको हो ।