काठमाडौं । जनता समाजवादी पार्टीमा मन्त्रिपरिषद् विस्तारको विवाद अहिले छताछुल्ल भएको छ । जसपाभित्र देखिएको असन्तुष्टि सडक, चोक–चोक र गल्लीहरुमा समेत देखिन थालेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताहरूले पर्सामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरुले नेता उपेन्द्र यादवको पुत्ला जलाइएको छन् ।
प्रदर्शनकारीहरू अध्यक्ष यादवका विरुद्ध पर्सामा मोटरसाइकल ¥यालीसहित आन्दोलन गरिरहेका छन् । प्रदर्शनकारीहरुले यादवलाई पर्सामा निषेध गर्ने घोषणासंगै चर्काचर्का नाराबाजी गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावहको अवस्था सृजना गर्ने चेतावनी पनि दिएका छन् । त्यस्तै असन्तुष्ट नेता, कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा जलाएका छन् ।
मधेस आन्दोलनको उद्दगमस्थल र आन्दोलनको आँधीबेहेरी ल्याउने स्थानलाई पार्टी नेतृत्वले नजर अन्दाज गरेको आरोप सांसद प्रदीप यादवको छ । फोरम नेपालको स्थापनादेखि बलिदान र योगदान दिँदै आएको वीरगञ्ज फेरि ठगिएको गुनासो उनको छ । सांसद यादवले भने, ‘पर्सामाथि अन्याय भएको छ, त्यसको नतिजा पार्टी शीर्ष नेतृत्वले भोग्नु नै पर्छ ।’
जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका नेता प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो । सर्लाहीबाट चुनाव जितेका प्रमोद साह अगामी कदमबारे आफु निकट नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गरिरहेका छन् । राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको सूची पठाउने क्रममा उनको नाम हटाएर महेन्द्रराय यादवको नाम समावेश गरिएको थियो ।
आफ्नो नाम हटाएपछि आक्रोशित भएका साहले जसपाको नेतृत्व पंक्तिप्रति गम्भीर प्रश्न उठाएका छन् । नेता साहले भने नेतृत्वले पार्टीमा गरेको योगदानको कदर नगरेको अनुभूति भएको छ । पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकारवाद र दमन शोषणको नमूना रहेको उनको आरोप छ । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रीमण्डलमा समावेश हुनेहरूको नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो । तर टुंगो लगाइँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’
मन्त्रिपरिषद विस्तारपछि जसपामा असन्तुष्टहरु गोलबन्द हुँदै गएको सो पार्टीका एक नेताले बताए । उनले भने, ‘यसपटक पनि पार्टीभित्रको असन्तुष्टि उपेन्द्र यादवको नियन्त्रणभन्दा बाहिर छ ।’ उनका अनुसार उपेन्द्र यादवलाई कुनै शक्तिले साथ नदिए यसपटक पनि पार्टी बचाउन मुस्किल हुनेछ । सबैभन्दा बढी असन्तुष्टि महन्थ ठाकुर पक्ष छाडेर आएका नेताहरुमा देखिन्छ । महन्थ ठाकुर पक्ष छाडेर आएका अधिकांश नेताहरुलाई मन्त्री पदको प्रलोभन दिइएको थियो । त्यसमध्ये महेन्द्रराय यादवलाई मात्र मन्त्री बनाइएको छ ।


