एएनआई । चीनको एक कोइला खानीमा भएको दुर्घटनामा २३ जनाको ज्यान गएको छ । चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको हो ।
सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको मजदुरहरुले जानकारी दिएका छन् । शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको चीनको समाचार समिति सिन्ह्वाले जनाएको छ ।
कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो । सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो । चीनमा कोइला खानीमा यस्ता दुर्घटनाहरु बारम्बार हुने गरेका छन् । यस दुर्घटनापछि खानीको अनुसन्धान गरिने प्रहरीले जानकारी दिएको छ ।
