काठमाडौं । कोरोना महामारीको फाइदा व्यापारीले लगेका छन् । बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीलगायतका खाद्य सामग्री पठाउने गिरोह नै सक्रियरूपमा लागेको पाइएको छ ।
डेट एक्सपायर भएका बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुसलगायत सामाग्रीमा पुनः नयाँ म्याद राखेर सडेकै सामान बजारमा पठाइने गरेको पाइएको हो । प्रहरीले १४ सय प्रकारका म्याद गुज्रेका खाद्य सामग्रीमा यस्तो भेटिएको हो । महामारीको मौका छोपी नयाँ उत्पादन मिति र गुज्रने म्यादको मिति राखेर लेभलिङ गरी पुन बजारमा पठाउने गिरोह प्रहरीको फन्दामा परेको छ ।
प्रहरीले कलंकी क्षेत्रमा सिल गरेको एक घरको गोदाममा राखिएको १४ सय प्रकारका सामग्रीमध्ये १ सय ४१ प्रकारका सामग्रीको पहिचान गरेको छ । प्रहरीले विशेष सूचना र दुई हप्ताको सूक्ष्म अनुसन्धानपछि गरेको अप्रेसनका क्रममा राजधानीका कलंकी र बाफल क्षेत्रबाट गरी करिब २५ करोड मूल्य बराबरका सामानमा नयाँ डेटसहितको लेभलिङ गर्दै गर्दा सिल गरिएको जनाएको छ ।
