ग्याङ फाइटमा एकको मृत्यु, चार घाइते

ग्याङ फाइटमा एकको मृत्यु, चार घाइते

मोरङ । बेलबारी नगरपालिका ५ कसेनीस्थित लोहन्द्र पुलमा शुक्रबार दिउँसो भएको ‘ग्याङ फाइट’ मा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । ‘ग्याङ फाइट’मा ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

घाइते भएका राईको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । डीएसपी राईका अनुसार स्थानीय ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ, ३२ वर्षीय सन्तोष मगर र विक्रम राईको समूह र ४० वर्षीय चन्द्रकुमार राई, ४२ वर्षीय सईकुमार राई, ३२ को समुन्द्र राई र १६ को गौरव राईको समूहबीच झडप भएको हो ।

सुरुमा चौधरीको समूहले खुकुरी र बन्चरोलगायतका हतियारले प्रहार गरेपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ। बिहीबार बेलुकैदेखि सामान्य विवाद रहेको र त्यही विवाद शुक्रबार दिउँसो १ बजे झडपमा परिणत भएको डीएसपी राईले बताए । उनीहरुबीचमा बिहीबार के विषयमा विवाद भएको थियो भन्ने खुल्न सकेको छैन ।

घटनामा परेर सईकुमार, समुन्द्र र गौरव गम्भीर घाइते भएका छन्। उनीहरुको विराटमै उपचार भइरहेको छ । अर्को समूहका पनि चौधरी घाइते भएका छन्। घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले डीएसपी राईको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.