भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु

जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु

चितवन, । जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो । स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन । चापागाईका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गतेनै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ । अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईले बताउनुभयो । थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उहाँले जानकारी दिनुभयो । विस्तृत विवरण महानगरमार्फत आउने उहाँको भनाइ छ । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । उहाँका अनुसार सङ्क्रमित एक जना थपिएका छन् । पछिल्लो थपिएका सङ्क्रमित माडीका हुन् ।

माडी नगरपालिका वडा नम्बर ४ का ७४ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । बिरामीको बारेमा थप विवरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ । सन् २०२१ मा जिल्लामा यो सङ्ख्या एक जना रहेको थियो । सन् २०२० मा एक जना थियो भने सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । चापागाईले भन्नुभयो, “सम्भवत जिल्लामा यसरी महामारीको रुपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका हुन भने त्यस पछिका सबै १५ वर्षभन्दा माथिका हुनु । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ ।

यसलाई हेर्दा चितवनमा तीन हजारमा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको स्वास्थ्य कार्यालय चापागाईको भनाइ छ । सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा यो रोग सर्दैन । अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.