भर्खरै : Sorry, your browser does not support inline SVG.

झापालाई ‘चिया जोन’ घोषणा गर्न माग

झापालाई ‘चिया जोन’ घोषणा गर्न माग

झापा । नगदे बालीका रुपमा रहेको चियालाई प्रवद्र्धन गर्न झापालाई ‘चिया जोन’का रुपमा विकास गर्नुपर्ने माग गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाले चिया सरोकार पक्षसँग आज आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरकारसँग पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले चियालाई धान, मकै, सुपारी र रबरजस्तै जोन वा सुपरजोन घोषणा गरेर काम गरे चिया किसान, मजदूर र उद्योगी सबैको हितमा हुने र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायतले सरकारले तोकेको चिया श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न बोर्डलाई महत्वपूर्ण भूमिका निवार्ह गर्न आग्रह गर्दै चिया जोन बनाएमा किसान, मजदूर र उद्योगी सबैको हित र संरक्षण हुने बताउनुभयो । बोर्डका सञ्चालक सदस्य आदित्य पराजुली र हर्क तामाङले चियाको मार्केट्रिक बोर्ड स्वयम्ले गर्नुपर्ने, किसानको खोसिएको सिंचाई सुविधामा दिएको विद्युतीय सहुलियत दर पुनः कायम गर्नुपर्ने र चिया किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने लगायतका माग सरकारसँग राखेको बताउनुभयो ।

उहाँहरुले किसानलाई निरास नहुन र गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा कृषि ज्ञान केन्द्र कृषि अधिकृत शालिकराम भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासङ्घ प्रदेश नम्बर १ का सदस्य भूपाल सापकोटा, होम कार्की, सच्चिन निरौला, सहीकुमार राई, सन्तकुमार राई, पत्रकार माधव विद्रोहीलगायतले बोर्ड काठमाडौँमै सीमित रहेको र जिल्लामा जनशक्तिको अभाव देखाएर काम नगरेको आरोप लगाउनुभयो । उहाँहरुले चियाको राजधानी झापा रहेको हुँदा बोर्डको केन्द्रीय कार्यालय झापामै स्थानन्तर गरेर किसान, मजदूर र उद्योगीको हितमा काम गर्नुपर्ने नत्र चिया जोन घोषणाका लागि पहल गर्न माग गर्नुभयो ।

राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय झापाका निमित्त प्रमुख प्रेम आचार्यले कार्यालयमा स्रोत साधानको अभाव रहेको हुँदा किसानको समस्या बुझ्न र सहयोग गर्न समस्या भइरहेको बताउनुभयो । उहाँले बोर्डले किसानले उत्पादन गरेको चियाको मात्रा र रोपण गरेको क्षेत्रफलको आधारमा कृषि सामग्री संस्थानबाट मल उपलब्ध गराउने जानकारी दिनुभयो । कार्यक्रममा कार्यालयका कृषि प्राविधिक कुसुम भण्डारीले बार्डको उद्देश्य, काम कर्तव्य, जिल्लाको चियाको तथ्याङ्क र चालू आवको बजेटका बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले झापामा हाल सात हजार ३४० हेक्टरमा चिया खेती भइरहेको जानकारी दिँदै साना कृषकको सङ्ख्या दुई हजार ९६२, चिया सहकारी सात वटा, साना चिया प्रशोधन कारखाना ४३ मध्ये ३५ वटा सञ्चालनमा, चिया प्याकेजिङ उद्योग १७२ वटा, टि–इस्टे«टको सङ्ख्या ७३ वटा रहेको बताउनुभयो । उहाँले जिल्लामा मात्र हाल एक करोड ७४ लाख २९ हजार २८८ केजी तयारी चिया उत्पादन हुने बताउनुभयो । चालू आव २०७७÷७८ को बजेट भने बोर्डको रु ९५ लाख ९७ हजार मात्र रहेको जनाउँदै उहाँले प्रशासनिक खर्च रु ७७ लाख एक हजार, कार्यक्रम खर्च रु १८ लाख ६६ हजार, पूँजीगत खर्च रु ३० हजार गरी रु ९५ लाख ९७ हजार भएको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.