पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चिनियाँ पर्यटक भित्र्याउन भाषाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीले आयोजना गरेको एकमहिने चिनियाँ भाषा तालीमको समापन समारोहमा मन्त्री गुरुङले भाषाको माध्यमबाट चिनियाँ पर्यटकलाई थोरै अनुपातमा भए पनि नेपाल भित्र्याउन सके पर्यटन क्षेत्रमा ठूलो लाभ लिन सकिने बताउनुभएको हो । अधिकांश चिनियाँ नेपाल घुम्न आउँदा भाषाको समस्या झेल्नु परेको यथार्थ सुनाउँदै भाषाकै कारण नेपालको रहनसहन सांस्कृतिक परम्पराको बारेमा चिनियाँ पर्यटकलाई बुझाउन समस्या भएको बताउनुभयो ।
उहाँले कोभिड–१९ को कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउन आउने पर्यटकका लागि गुणस्तरीय सेवामा जोड दिनुपर्ने उहाँको भनाइ थियो । मन्त्री गुरुङले भाषा जति बोल्यो त्यति सहज हुने र नबोले बिर्सन सकिने भएकाले सहभागीलाई तालीम उपलब्धिपूर्ण बनाउन अभ्यासमा ध्यान दिएर भाषामा पोख्त हुन आग्रह गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धन र विकासका लागि व्यवसायीसँग छलफल गरेर आगामी योजना तय गरिने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले चीनमा नेपाललाई स्रोत बजारको रुपमा चिनाउन सके यस क्षेत्रबाट लाभ लिन सकिने धारणा राख्नुभयो । उहाँले चिनियाँ भाषा सरल भएकाले एक महिनाको तालीम पर्याप्त नभए पनि आधारभूत ज्ञानमार्फत चिनियाँ पर्यटकलाई सेवा दिन सकिने उहाँको विश्वास थियो ।
भाषाले परम्परा रीतिरिवाज भेषभूषा आनीबानीको बारेमा बुझ्न र बुझाउन सकिन्छ, जब पर्यटकले आफ्नो मौलिक भाषा अर्को नागरिकबाट सुन्छन्, उनीहरुमा सकारात्मक धारणाको विकास हुन्छ ।” उहाँले पर्यटनमा यस्तो कुराले निकै अर्थ राख्ने भएकाले पर्यटकलाई खुशी र सन्तुष्ट बनाउनु पर्ने बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ को कठिन अवस्थाबाट पनि पर्यटन व्यवसायी निरास नभई व्यवसाय पुनःसञ्चालनमा अग्रसर भइरहेको जनाउँदै सरकारले पर्यटनमैत्री वातावरण तयार गरेर सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्र सरकारलाई सघाउन तत्पर रहेको बताउँदै सरकारले पनि व्यवसायीको समस्यालाई बुझेर अक्सिजन प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।
सो अवसरमा उहाँले प्रदेश सरकारको व्यवसाय जीवन रक्षा कोष र नेपाल सरकारले ल्याएको मौद्रिक नीति कार्यान्वयनको देखिएका जटिलताका र ढिलासुस्तीको बारेमा मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । तालीमका संयोजक खिमबहादुर नेपाली ९क्रिस० ले कोभिड–१९ पछाडि धेरै चिनियाँ पर्यटक नेपाल आउन उत्साहित रहेको जनाउँदै आगामी दिनमा पर्यटकलाई भाषाका कारणा समस्या भोग्नु नपरोस् भनेर तालीम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले एक महिने तालीमबाट पर्यटन क्षेत्रका आधारभूत कुरालाई मध्यनजर गरेर भाषा सिकेको जनाउँदै अब आधारभूत कुरामा साङ्केतिक संवाद गर्नु नपर्ने बताउनुभयो ।
नाट्टाका कार्यवाहक अध्यक्ष हरिराम अधिकारीले पर्यटन पुनरुत्थानको विभिन्न गतिविधिसँगै संस्थाले चिनियाँ पर्यटकलाई लक्षित गरेर भाषा तालीम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा सबैभन्दा पहिला भाषाको ज्ञान अनिवार्य जस्तो हुँदो रहेछ । अरु पर्यटकभन्दा चिनियाँ पर्यटकलाई भाषाकै कारण सेवा दिन धेरै कठिन भइरहेको गुनासो आएपछि भाषा तालीम दिएका हौँ ।” उहाँले भाषा तालीमले अब आउने दिनमा केही सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
तालीममा सहभागी विकास निरौलाले भाषा निकै कठिन भए पनि एक महिनाको तालीमले आधारभूत ज्ञान हासिल गर्न सफल भएको अनुभव सुनाउनुभयो । प्रशिक्षक चिनियाँ नागरिक लिन्दाले एक महिनाको तालीमले पूर्ण ज्ञान हासिल गर्न नसकिने भएकाले भाषाको बारेमा निरन्तर अभ्यास गरेर अघि बढ्न सहभागीलाई आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सञ्चालित तालीममा संस्थाका ३६ जना सदस्यको सक्रिय सहभागिता रहेको र तालीमपश्चात् सम्पूर्ण प्रमाणपत्र वितरण गरिएको नाट्टाका महासचिव कमला गिरीले जानकारी दिनुभयो ।
