भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

टिकटक लाइभमा बस्ने डिलकुमारीको व्यापारिक सफलता

टिकटक लाइभमा बस्ने डिलकुमारीको व्यापारिक सफलता

बेनीको कालीपुल बसपार्कमा रहेको म्याग्दी कोशेली घरकी सञ्चालक डिलकुमारी गुरुङ हरेक दिन करिब एक घण्टा सामाजिक सञ्जाल ‘टिकटकमा लाइभ’ बस्छिन्। उनले यो मनोरञ्जन वा सूचना आदानप्रदानका लागि होइन, बरु स्थानीय उत्पादनको बजारीकरणका लागि टिकटक प्रयोग गर्छिन्।‘सामाजिक सञ्जाल मनोरञ्जन र समय बिताउन मात्र होइन, व्यापार व्यवसायमा पनि प्रयोग गर्न सकिन्छ,’ उनले भनिन्, ‘टिकटकको सहायताले मासिक तीनदेखि चार लाख रुपैयाँ बराबरको सामान बिक्री गर्छु।’

टिकटक प्रयोग गर्न थालेपछि उद्यमीले उत्पादन गर्ने सामान खरिद गर्नदेखि उपभोक्ता र जिल्लाबाहिरका व्यापारीलाई बिक्री गर्न सजिलो भएको उनको अनुभव छ। ‘पहिले पसलमा चाहिने सामान जुटाउन र मासिक एक लाखको सामान बेच्न पनि गाह्रो थियो,’ उनले भनिन्, ‘टिकटकमार्फत अर्डर लिएर मासिक चार लाखसम्म सामान बेच्छु। टिकटककै सहयोगले गाउँगाउँमा दिदीबहिनीले बनाएका सामान खरिद गर्छु।’

उनी टिकटकमा सामानको भिडियोसहित आफ्नो सम्पर्क नम्बर राख्छिन्। त्यही ‘भिडियो’ हेरेर ग्राहकले सामान अर्डर गर्छन् र खातामा पैसा जम्मा गरेपछि गाडी वा कुरियरमार्फत सामान पठाउँछिन्। म्याग्दी उद्योग वाणिज्य संघले स्थापना गरेको पर्यटक सूचना केन्द्रको भवनको सटरमा उनले गत असारदेखि कोशेली घर चलाउँदै आएकी छन्।कोशेली घरमा म्याग्दीका उद्यमीले बनाएका ढाका, अल्लो, तानमा बुनेका कपडा, राडीपाखी, जातीय पोशाक, नेपाली हाते कागज, भाँगो, कालो भट्ट, रातो च्याउ, सिमीको दाल, सिस्नो पाउडर, घर र भिरमह, टिमुरजस्ता सामान खरिदबिक्री हुन्छन्। पोखरा, काठमाडौं, बुटवल, चितवनका व्यापारी र विदेशमा रहेका नेपाली टिकटकमार्फत उनको सम्पर्कमा आउँछन्।

विदेशमा रहेका नेपालीका आफन्तलाई सम्पर्क गरेर सामान पठाउने र भुक्तानी लिने गरेको उनले बताइन्। बेलायत, अस्ट्रेलिया, जापान, पोर्चुगल, अमेरिकामा रहेका नेपालीले सामान माग गर्छन्। सिस्नोको पाउडर, टिमुरको चटनी, फापरको पिठोको माग विदेशबाट धेरै आउने गरेको उनको भनाइ छ।म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले कोशेली घरले स्थानीय उद्यमीले तयार पारेका कृषि, पशु र लघुउद्योगका उत्पादनको बजारीकरणमा सहयोग पुगेको बताए। यहाँ आउने पाहुनाले फर्किंदा चिनोका रूपमा कोशेली घरबाट सामान किनेर लैजाने गर्छन्। रासस

 


Thali Mobile Pvt.Ltd.