बुटवल । नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएपछि हंगामा भएको छ ।
१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदा हंगामा भएको हो । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर दुई तिहाइ बहुमतको बर्खिलाप, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक प्रणालीलाई नै तहसनहस पारेको र मुलुकलाई अस्थिरतातर्फ धकेलेको भन्दै डाँगीले राजीनामा दिएको बताए ।
कतिपय प्रदेशमा गलत लोकतान्त्रिक संस्कृतिको सुरुवात भएको भन्दै उनले राजीनामा पत्रमा भनेका छन्, ‘उच्च रक्तचापको बिरामी राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्न चाहन्छु ।’ ७९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४० मत चाहिन्छ भने डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ सांसद छन् ।
