काबुल । दक्षिणपश्चिम अफगानिस्तानको कान्दाहारमा तालिबान र अफगान सुरक्षाकर्मीहरूबीच लडाइँ चलेपछि आकाशमा धुवाँको मुस्लो देखिएको छ । तालिबानीले प्रमुख सहरहरु कब्जामा लिएको छ । काबुल पनि कब्जा गर्ने देखिएपछि अमेरिकी राजदूतावासले संवेदनशील सबै कागजात र सामग्री नष्ट गर्न निर्देशन दिएको छ।
संवेदनशील कागजात र विद्युतीय सामाग्रीहरू जलाउने प्रयोजनका लागि राजदूतावासले उपकरणहरू उपलब्ध गराएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्ने ओसामाबिन लादेनलाई आश्रय दिने अफगानिस्तानको तालिबान सरकारविरूद्ध अमेरिकाले २० वर्षअघि सैन्य कारबाही सुरू गरेको थियो।
सो कारबाहीले तालिबानलाई विस्थापित गरेको थियो। अमेरिकी सेना अफगानिस्तान फर्काउनका लागि तालिबानले गाँउ, शहर हुँदै राजधानी काबुल कब्जा गर्ने लक्ष्य लिएको बताइएको छ ।। अमेरिकाले अगष्ट महिनाको अन्तिम सम्ममा सबै अमेरिकी सेना फर्काउने तालिका सार्वजनिक गरेको छ। शुक्रबार सम्ममा तालिबानले अफगानिस्तान दुई प्रमुख सहर दक्षिणको कान्दहार र पश्चिमको हेरात पनि कब्जा गरिसकेको छ।
काबुल पनि कब्जा गर्ने निश्चितजस्तै बनेको छ। २० वर्षसम्म अफगानिस्तानमा बस्दा अमेरिकाले कैयन संवेदनशील काम र निर्णयहरू गरेको छ। तालिबानसँग लडन अफगान सेनालाई सक्षम बनाउन मात्रै अमेरिकाले ८६ अर्ब डलर लागानी गरेको थियो । अमेरिकाको त्यो लगानी बालुवामा पानी हालेसरह देखिएको छ। हजारौं अफगानी नागरिकले अमेरिकी सरकारलाई सुराकीका रुपमा र अन्य हिसाबले सघाएका छन्।
कुनै पनि यस्ता संवेदनशील सूचना तालिबानको हात नलागोस् भनेर अमेरिका सचेत देखिएको छ। त्यसैकारण राजदूतावासले त्यस्ता सूचना भएका कागजात र सूचना आदन–प्रदान गर्न प्रयोग भएका विद्युतीय उपकरण नष्ट गर्ने प्रक्रिया सुरू गरेको छ।अमेरीकाले आफ्ना नागरिक र आफूलाई नजिकबाट सहयोग गर्ने करिब चार हजार अफगान नागरिकलाई सुरक्षित रुपले देशबाहिर लैजान दिनरात काम गरिरहेको छ।
आफ्ना नागरिकलाई अमेरिका फिर्ता लैजान तीन हजार सैनिक काबुलमा उतारेको छ। अफगानी नागरिकलाई भने बिनाभिसा अमेरिका लैजान तल्काल नसकिने हुँदा अरु कुनै मुलुक वा सुरक्षित अमेरिकी सैन्य अड्डाहरूमा लैजाने तयारी गरेको छ। उनीहरूको भिसा प्रक्रिया अघि बढाउन कुवेतमा एक हजार सैनिक अधिकृतहरूले काम सुरू गरेका छन्। अमेरिकाले विशेष दूतमार्फत तालिबानसँग काबुलस्थित आफ्नो राजदूतावासमा आक्रमण नगर्न ‘नेगोसिएटु गरिरहेको छ।
साथै काबुलमा तालिबानको शासन स्थापित भएको खण्डमा पनि आफ्नो दूतावासलाई कायम रहन दिन अमेरिकाले आग्रह गरेको छ। त्यसो भएको खण्डमा तालिबानी सरकारसँग पछि काम गर्न सजिलो हुने, विदेशी सहयोग परिचालन गर्न तालिबानलाई सजिलो हुने तर्क अमेरिकाले गरेको छ। साथसाथै तालिबानले कदाचित आफ्नो राजदुताबासमा आक्रमण गरेको खण्डमा त्यसको समान कसरी गर्ने र आफ्ना नागरिकलाई कसरी सुरक्षित रुपमा अफगानिस्तानबाट बाहिर निकाल्ने भन्नेबारे पनि थप सैन्य तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
कान्दहार र हेरात सहर नियन्त्रणमा लिएसँगै तालिबानका निम्ति यो घटना गत मे महिनायताकै सबभन्दा ठूलो उपलब्धि बनेको छ। अमेरिकासहित उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० का सदस्य राष्ट्रहरूका सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको हो। उनीहरू हरेक दिन नयाँ ठाउँमा कब्जा जमाइरहेका छन्। यो उपलब्धिलाई तालिबानले अफगानी जनताले आफूहरूलाई स्वीकारेको संकेतका रूपमा लिएको समूहका प्रवक्ता क्वारी युसी अह्मादीले बताएका छन्। हेरातका प्रदेश काउन्सिल सदस्य गुलाम हबिबका अनुसार हेरात अहिले भूत सहरजस्तो बनेको छ।
करिब छ लाख मान्छे इरानको सीमामा गएर बसेका छन्। हबिबको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ुधेरै परिवारले सहर छाडेका छन्, अरू धेरै लुकेर बसेका छन्। यो भूताहा सहरजस्तो भएको छ।’ कन्दहारमा पनि गत राति भीषण द्वन्द्व भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पछि तालिबानीहरूले सहर कब्जा गर्न सफल भए।अफगानिस्तानका प्रमुख सहरमध्ये उत्तरमा मजरइशरिफ र पूर्वमा पाकिस्तानको सीमा नजिकै रहेको जलालाबाद र काबुल भने अझै सरकारको नियन्त्रणमा छ ।
तर अमेरिकी रक्षा अधिकारीहरूले तालिबानले आगामी ३० दिनभित्र काबुललाई एक्ल्याउने र सम्भवतः ९० दिनभित्र नियन्त्रणमा लिइसक्ने देखिएको बताएका छन्। तालिबानले आफ्नो प्रभाव बढाएपछि अमेरिका र बेलायतले त्यहाँका आफ्ना दूतावास खाली गर्न लागिपरेका छन्। राजधानी काबुलस्थित दूतावासमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा लैजान उनीहरूले धमाधम तयारी गरिरहेका छन्।
अमेरिकी दूतावासमा १४ सय कर्मचारी हुनसक्ने अनुमान छ। उनीहरूलाई सुरक्षित स्थानमा लग्न पेन्टागनले ४८ घन्टाभित्र थप तीन हजार सेना पठाउन लागेको बताइएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोइड अस्टिनले अफगानी राष्ट्रपति असरफ घानीसँग कुरा गरेका थिए। उनीहरूले घानीलाई अमेरिका अफगानिस्तानको सुरक्षा र स्थिरताका लागि सधैं तयार रहेको बताए। बेलायतले पनि आफ्ना नागरिकको मद्दतका लागि ६०० सेना पठाउने तयारी गरेको छ।
सैनिक टोली यो साताको अन्तिममा पुग्ने अनुमान गरिएको छ। यसमा चिकित्सक र विशेषज्ञहरू समेत रहनेछन्। झन्डै ६ लाख मानिसको बसोबास रहेको हेरातमा एकसाथ ‘अल्लाहु अकबर’ आवाज गुन्जिएको पहिलोपटक सुनिएको थियो। यसरी तालिबानविरूद्ध लडिरहेका अफगानी सेनाले जनताको समर्थन पायो भन्ने सोचेका थिए। तर त्यसैबीच हेरातलाई तालिबानले आफ्नो नियन्त्रणमा लियो।
तालिबानी लडाकूले हेरातलाई नियन्त्रणमा लिएपछि एउटा भिडिओ सार्वजनिक गर्यो। गत बिहीबार मात्रै तालिबानले घज्नी सहर पनि नियन्त्रणमा लिएको थियो। यो सहर कन्दहारदेखि काबुल जाने सडकमा पर्छ। अहिले अफगानिस्तानभर फोन सम्पर्क बन्द छ। यसले कुन कुन सहर तालिबानको आक्रमणमा रहेको भन्ने जानकारी आउन सकेको छैन। कतिपय विश्लेषकले विदेशी सेना फर्किएको छ महिनाभित्रै असरफ घानीको सरकार ढल्ने विश्लेषण गरेका छन्।
गाउँमा कब्जा जमाएको तालिबानले विस्तारै सहरमा आक्रमण गर्ने र युद्धबाट अहिलेको शासन व्यवस्था फाल्ने सम्भावना उनीहरूले औंल्याएका छन्। सरिया कानुनअनुसार शासन चलाउने तालिबानले अबका केही महिना सत्ता कब्जा गर्न आक्रमणलाई तीव्रता दिने निश्चित छ। एजेन्सी

