काठमाडौं । हत्याकाण्डका अभियुक्त सञ्जय भण्डारीलाई आजीवन कारागारमा राख्न मागदाबी गर्दै मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले क्रुर तथा निमर्मतापूर्वक हत्या गरेको कसुरमा आजीवन कारागारमा राख्न मार्गै उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
जन्मजात बोल्न नसक्ने भण्डारी गत भदौ २० गते गैह्रीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एकतले जस्ताको टहरोमा चार जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
धारिलो हतियार प्रहार गरी दोलखा घर भई सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष ५६ वर्षीय कुमार भुजेल, उनी श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङको बेलबारी स्थायी घर भएका १९ वर्षीय नवीन राईको भण्डारीले हत्या गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट थियो । अभियुक्त भण्डारीले विभिन्न समयमा अन्य नौजनाको हत्या गरेको दाबी गरेका छन् । बहिरामाथि विभेद गरिएकाले ती हत्या गरेको उनको दाबी छ ।
काठमाडौंको रातोपुल, धुम्बाराही, भत्केको पुल, भाटभटेनी, बौद्ध, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुवाचौर, पाँचपोखरी र नाम्चेमा विभिन्न मितिमा मान्छे मारेको बयानको क्रममा बताएको प्रहरीले बताएको छ ।
आफूले मारेका व्यक्तिलाई नचिन्ने र सबैको हत्यामा धारिलो हतियार प्रयोग गर्ने गरेको स्वीकार गरेका छन् । तीनकुने घटनामा भने भण्डारीलाई प्रहरीले घटनाको दुई दिनपछि ३१ भदौमा पक्राउ गरेको थियो ।
