तुइनमा झुन्डिएको नेपाल

तुइनमा झुन्डिएको नेपाल

काठमाडौं । नेपाल–भारत सीमामा रहेको महाकाली नदी पार गर्न खोज्दा एक नेपालीको मृत्यु भएपछि तुइन फेरि राष्ट्रिय ध्यानाकर्षणको विषय बनेको छ । यो घटनाले एकै पटक कैयौं सवाल उठाएको छ । तुइन खोलानाला तर्ने पारम्परिक माध्यम भए पनि आजको समयसम्म प्रयोगमा नरहनुपर्ने हो ।

ठूलो संख्याका नेपाली आज पनि ज्यान हत्केलामा राखेर तुइनबाट नदी तर्नुपर्ने बाध्यतामा छन्, मुलुकभित्रै वा छिमेकी भारतीय क्षेत्रमा आवतजावत गर्न पनि । तुइनमा दैनन्दिन जीविकोपार्जनका लागि जो झुन्डिन्छन्, तिनीहरूलाई नै थाहा छ, यो काम कत्तिको कष्टकर र जोखिमपूर्ण हुन्छ ।

जसको नियतिमा तुइन एउटा कटुसत्य बनेर उपस्थित हुन्छ, तिनीहरू नदी तरे पनि मानसिक रूपमा पलपल मरिरहेका हुन्छन् । सीमाका बासिन्दाहरूका आफ्नै खालका समस्या र सरोकार छन् तर काठमाडौंले त्यसलाई आफ्नो अनुकूलतामा मात्र सुन्ने, बुझ्ने र बोल्ने गर्छ । प्रायः घटनाको खबर काठमाडौंसम्म पुग्दैपुग्दैन ।

जेजति पुग्छ, त्यसमा राजनीति बढी हुन्छ न कि सरकारबाट तदारुकताका साथ सम्बोधन । जयसिंह धामीको मामिलामा सत्य के हो, त्यो चाँडै बाहिरिने आशा गर्न सकिन्छ । तर कुरा यत्तिकैमा सकिँदैन । नेपाल–भारत सीमा खुला छ, सर्वत्र यही बुझाइ छ, तर धरातलमा त्यस्तो छैन । किनभने आवागमन सहज छैन ।

सीमा वारपारका लागि अझै तुइनको प्रयोग भैराख्नु भनेको सम्बन्धको आधारकेन्द्र जनता नभएर दुई राज्यको आआफ्नो स्वार्थ रहनु हो । अन्तर्राष्ट्रिय सम्बन्ध भनेको अन्तरराज्य सम्बन्ध हो । दुई केन्द्रबीचको सम्बन्धको निरन्तरतामा आधारभूत मान्यताहरूमा ‘सीमाञ्चल’ लाई राख्ने गरिएको छ । यस्तो मानसबाट भारतीय सीमाञ्चलवासीसमेत गुज्रिनुपरिरहेको छ ।

कतिपय अवस्थामा भारतको शक्तिशाली संस्थापनले सीमान्त भूभागका आफ्ना बासिन्दाको सुरक्षा र सुविधाका यस्ता प्रयत्नहरूलाई आकार दिएको हुन्छ, जो नेपालीय सीमाञ्चलवासीको हितविपरीत हुन्छन् । कुनै पनि मुद्दालाई उपयुक्त किसिमले टुङ्ग्याउनुको सट्टा प्रत्येक मामिला राजनीतिक तहमा, त्यसमाथि प्रधानमन्त्री र मन्त्रीद्वारा सम्हाल्ने प्रयास सीमाञ्चल सम्बन्धको राजनीतीकरण प्रक्रियाको मूल कारण हो ।

हामीले जे चाहिएको हो त्यो माग्न पनि सकेका छैनौं र उनीहरूले पनि हाम्रो स्तरमा आएर सोच्न सकेका छैनन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को भूमिका किन आलोचित छ नेपालमा रु ‘रोटी बेटी’ सम्बन्धको भाष्यबीच सीमा नियमितताको नाउँमा भारतीय पक्षबाटै पहिले सैनिक पोस्ट खडा गर्ने काम भयो ।

बिस्तारै दुइटै राज्यका तर्फबाट सीमामा सैन्यकरणको प्रक्रिया बाक्लिँदै आयो । भारत जाँदा कतिपय ठाउँमा भारतीयको दुर्व्यवहार, जबर्जस्ती र ज्यादतीलाई पनि सामान्य रूपमा लिनुपर्ने अवस्था छ । कोरोना संक्रमणको बहानामा सीमामा निर्बाध आवागमनमा रोक लगाइएको छ । अठार सय किलोमिटर खुला सिमानामा कतै कडाइ छ त कतै अलि खुकुलो ।

यस्तो किन गरिएको हो, सहज उत्तर कतैबाट पाउन सकिएको छैन । नेपाल र भारतले एकअर्कालाई शत्रुराष्ट्र घोषणा नगरे पनि सीमाक्षेत्रमा खटिएका सुरक्षा अधिकारीहरू किन प्रश्न उठ्ने क्रियाकलाप गरिरहन्छन् रु भारततर्फबाट स्थलमार्ग हुँदै वाहनबाट सामान ढुवानी भैराखेको छ, तर मानिसको आवागमनलाई सहज बनाउनुपर्ने ठाउँमा जुनसुकै वाहनमा रोक छ ।

यस पछाडिको तर्क के छ रु यी सब हेर्दा सीमाञ्चल सम्बन्ध चौबाटाको ट्राफिक लाइटजस्तै भएको छ, जसमा हरियोभन्दा बढी पहेंलो र रातो बत्ती बल्छ । भौगोलिक यथार्थ परिवर्तन गर्न सकिँदैन । दिल्ली र काठमाडौंले यो बुझ्न ढिलो गर्नु हुँदैन । नेपालीय सीमाञ्चल स्वार्थ के हो भन्नेमै नेपालका राजनीतिक दलहरूबीच सहमति हुन सकेको छैन ।

प्रत्येक विषयलाई राजनीतीकरण गरी राष्ट्रिय स्वार्थभन्दा दलीय स्वार्थलाई महत्त्व दिने प्रवृत्तिका कारण पनि यस्ता समस्याहरू बल्झिरहने गरेका छन् । राष्ट्रिय सहमतिको अभावमा नेपालले छिमेकीलाई आफ्ना मर्का र मर्मप्रति संवेदनशील बनाउन सम्भव छैन । यहाँनिर जोड दिएर के बुझाउन जरुरी छ भने, प्रत्येक सीमाञ्चलवासीलाई आफ्नो स्वतन्त्रता र अस्तित्वप्रति गर्व छ र पुर्खाको यो नासोलाई सुरक्षित राख्न सजग छ ।

यदाकदा पारिपट्टिकाहरूमा ‘मुखमा सीताराम, कामले निदहराम’ को प्रवृत्ति त छैन भन्ने आशंका भुइँतहमा छ । यता हाम्रोतिर आम जनताको भावनात्मक आवेगलाई भड्काएर फगत नाराहरूको खेती गरिन्छ । सीमाञ्चलका वास्तविक आकांक्षा र आवश्यकतालाई लिएर यथार्थ समझदारी गर्ने यत्न छैन । त्यसैले कतिपय दैनन्दिन समस्याहरू कार्पेटमुनि थन्क्याउने गरिन्छ । चन्द्रकिशोरले लेखेको यो समाचार पुरा पढ्न कान्तिपुर दैनिक हेर्नु होला…

Mohotsav


Thali Mobile Pvt.Ltd.